२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

आवश्यकता र औचित्यका आधारमा नेतृत्व चयन : खिमलाल भट्टराई

सोमवार , भाद्र ४, २०८०

रुपन्देही, ४ भदौ ।
नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य, कपिलवस्तु जिल्ला इञ्चार्ज तथा राष्ट्रिय सभाका पूर्व सदस्य खिमलाल भट्टराईले आवश्यकता र औचित्यताका आधारमा लुम्बिनी प्रदेशको मूल नेतृत्व चयन गर्ने बताएका छन् । नेता भट्टराईले यही भदौ १६ र १७ गते बुटवलमा सम्पन्न हुने प्रदेशको प्रथम अधिवेशनबाट नेतृत्व सर्वसम्मत ढंगबाट चयन गर्ने बताउँदै अधिवेशनबाट ४० वर्षमुनीका युवा पुस्ताको कमिटीगत जिम्मेवारी सुनिश्चित गरिने दावी गरे । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने लुम्बिनी प्रदेशको अधिवेशन पहिलो भएको हुँदा अधिवेशनबाट देशलाई नै पार्टीले सन्देश दिने गरी तयारी भएको उनले बताए । नेता भट्टराईले नेकपा (एमाले) कपिलवस्तुको जिल्ला सचिवालय बैठकलाई सोमबार तौलिहवामा सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । 

बैठकमा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले अनुशासित कार्यकर्ताबाट मात्र सुदृढ संगठन संभव रहने बताए । सांसद् अधिकारीले जनताको बीचमा काम गर्न कार्यकर्तालाई आग्रह गर्दै जनताको बीचमा काम गर्नेहरु नै स्थापित हुने जिकिर गरे ।

बैठकले लुम्बिनी प्रदेश अधिवेशनको प्रतिनिधि छनोट कार्यका लागि पालिकास्तरमा निर्वाचन समिति गठन गर्नुका साथै निर्वाचन केन्द्र समेत तोकिदिएको जिल्ला निर्वाचन विभागका प्रमुख विश्व कार्कीले जानकारी दिए । 

प्रदेश अधिवेशनमा कपिलवस्तु जिल्लाबाट उत्साहजनक जनसहभागीता गराउने निर्णय गरेको जिल्ला अध्यक्ष डम्मर शर्माले बताए । अध्यक्ष शर्माले सर्वसम्मत ढंगबाट प्रतिनिधि चयनका निम्ति कोशिस गर्ने स्पष्ट पारे ।  

एमाले केन्द्रीय सदस्यहरु गिरिधारीलाल न्यौपाने, वृजेश कुमार गुप्ता, शुशिल कुमार गुप्ताको विशेष आतिथ्यता रहेको बैठकमा पार्टीका नेताहरु दानबहादुर चौधरी, झविलाल पोख्रेललगायतका नेताहरुले धारणा राखेका थिए । 

बैठकले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका निम्ति निर्वाचन कार्यतालिका पारित गरेको छ । निर्वाचन तालिकाअनुसार भाद्र ७ गते मतदाता नामावली प्रकाशन, भाद्र ८ गते उम्मेद्वारको मनोनयन दर्ता, अन्तिम नामावली प्रकाशन गर्ने र सहमति नभएमा भने भाद्र ९ गते बिहान ८ बजेदेखि मतदानको प्रक्रिया थालनी गर्नेछ । 

लुम्बिनी प्रदेश अधिवेशनका लागि कपिलवस्तु जिल्लाबाट ७० जना प्रतिनिधि छनौट हुने जिल्ला सचिव सिवि गहतराजले जानकारी दिए । जिल्ला सचिवालय वैठकले भूमिअधिकार तथा श्रमिक संगठन लुम्बिनी प्रदेशको भदौ २७ गते जिल्लाको शिवराजमा हुने अधिवेशनलाई सम्पन्न बनाउनका निम्ति जिल्ला पार्टीबाट विशेष भूमिका खेल्ने निर्णय गरेको एमाले नेता हिरालाल पौडेलले बताए । 

जनसहभागीताका लागि रुपन्देहीले बनायो कार्ययोजना

एमाले रुपन्देहीका २३ वटा जनसंगठनको बैठकले प्रदेश अधिवेशनको तयारीका लागि सबै जनसंगठनले पहिचानसहितको उपस्थिति गराउने निर्णय गरेको छ । सवै जनसंगठनले आ–आफ्नो ब्यानरसहित राजमार्ग चौराहाबाट जुलुससहित अन्तर्राराष्ट्रिय सम्मेलन केन्द्रमा जानेछन् ।

जनसंगठन प्रमुख चित्रबहादुर कार्कीका अनुसार बैठकले ३० जना स्वयंसेवक गठन गर्नेछ । जसमा राष्ट्रिय युवा संघ, अनेरास्ववियु र अखिल नेपाल महिला संघका कार्यकर्ताहरु संलग्न हुनेछन् । जसको नेतृत्व युवा संघले गर्नेछ । यसैबीच एमालेको पछिल्लो जनसंगठन पिछडा वर्गको तदर्थ समिति पनि मंगलबार गठन हुँदैछ । योसहित नेकपा एमालेका २४ वटा जनसंगठन हुनेछन् ।

जनसहभागीतालाई व्यवस्थित गर्नका लागि हरेक जनसंगठनले संख्या किटान गरी स्वतस्फूर्त रुपमा उपस्थित गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । बैठक जिल्ला पार्टी अध्यक्ष तेजेन्द्र केसीको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटीका सदस्य पुरन गुरुङको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । बैठकमा पाँचवटै क्षेत्रका संयोजकहरुको रहेको उपस्थिति थियो ।