
सोमवार , भाद्र ४, २०८०
भैरहवा, ४ भदौ ।
लुम्बिनी प्रदेशमा पछिल्ला वर्षमा सवारीसाधन दुर्घटना परी १ हजार ५ सय ३६ जनाको मृत्यु भएको छ भने ३ हजार ५ जना गम्भीर घाइते भएका छन् । प्रदेशमा रहेका १२ वटा जिल्लामा भएका ३ हजार २ सय ६७ सवारी दुर्घटनामा परी १ हजार ५ सय ३६ जनाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवल, रुपन्देहीले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०८८ मा १ हजार २ सय ११ वटा सवारी दुर्घटनामा परी ५ सय २३ जनाको मृत्यु भएको छ । सोही वर्षमा १ हजार ८३ जना गम्भीर घाइते भएका छन् भने ७ सय ४० जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक रहेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा १ हजार १ सय ६४ सवारी दुर्घटना भएका छन् । त्यसमा ५ सय ५१ जनाको मृत्यु जनाको मृत्यु भएको छ । सोही वर्षमा १ हजार १ सय २३ जना गम्भीर घाइते भएका छन् भने ५ सय ९७ जना सामान्य घाइते भएका छन् ।
पछिल्लो आर्थिक वर्ष २०७९/०८० मा दुई आर्थिक वर्षको भन्दा सवारी दुर्घटनाको संख्या भने घटेको छ । उक्त आर्थिक वर्षमा ८ सय ९२ वटा सवारी दुर्घटना हुँदा ४ सय ६२ जनाको मृत्यु भएको छ । घटनामा ७ सय ९९ जना गम्भीर घाइते र ४ सय ७७ जना सामान्य घाइते भएका छन् ।
पछिल्ला वर्ष सवारी दुर्घटना घट्नुमा विभिन्न कारणमध्ये प्रहरीको सचेतना र कारवाही पनि एक रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) होम थापाले बताए । उनले भने, ‘हामीले पछिल्ला समय दैनिक ट्राफिक जनसचेतना कार्यक्रम चलाएका छौं, लापरबाही गर्नेलाई कारवाही पनि गरेका छौं ।’
कति संकलन भयो राजस्व ?
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा पछिल्ला तीन वर्षमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाउनेलाई कारवाही गरी ४३ करोड २१ रुपैयाँ राजस्व संकलन गरेको छ ।
त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा १० करोड ६१ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा २ लाख ८४ हजार ८ सय ९९ वटा सवारीसाधनलाई कारवाही गर्दा २० करोड ८९ लाख ५ हजार राजस्व संकलन गरेको प्रहरीले जनाएको छ ।
त्यसै गरी आर्थिक वर्ष २०७९/०८० मा २ लाख ९६ हजार ३ सय ४५ सवारी कारवाही गर्दा २१ करोड ७१ लाख ७४ हजार ५ सय रुपैयाँ संकलन गरेको मा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij