
शनिवार , श्रावण २७, २०८०
भैरहवा, २७ साउन ।
शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले नयाँ शिक्षा ऐन चाँडो भन्दा चाँडो कार्यान्वयनमा ल्याउन खोजेका बताएकी छन् । उनले नयाँ शिक्षा ऐन नबन्दासम्म संविधानले दिएको अधिकार नागरिकले उपभोग गर्न नसक्ने मध्यनजर गर्दै नयाँ शिक्षा ऐन ल्याउन खोजिएको स्पष्ट पारिन् ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) जिल्ला समन्वय समिति रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उनले शिक्षा ऐन पारित गराएर कार्यान्वयनमा ल्याउन खोजिएको बताइन् । उनले भनिन्, ‘अहिले २०२८ सालकै शिक्षा ऐन कार्यान्वयनमा छ । संविधानले दिएको अधिकार उपभोग गर्ने दृष्टिकोणले शिक्षा ऐन–२०८० लाई प्रतिनिधि सभा र राष्ट्रियसभाबाट पारित गरेर कार्यान्वयनमा ल्याउन खोज्दैछौं । त्यसका लागि हामीले भरपूर प्रयास गरिरहेका छौं । ’ उनले आधारभूत शिक्षा (कक्षा १ देखि ८) सम्म, माध्यमिक शिक्षा (कक्षा ९ देखि १२) सम्म हरेक नागरिकलाई निःशुल्क तथा उच्च शिक्षा अपांगता भएका व्यक्ति र विपन्न वर्गका लागि भन्ने निःशुल्क प्रावधानमा संविधानमा रहे पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् ।
शिक्षा राज्यमन्त्रीले शिक्षाले असल, योग्य, सक्षम र प्रतिष्पर्धी र उत्पादनशील जनशक्ति निर्माण गर्ने र त्यो जनशक्तिले साँस्कृतिक, सामाजिक र पूर्वाधार विकासमा अहम भूमिका निर्वाह गर्ने बताइन् । शिक्षाले राष्ट्रले सार्वभौमिकता, स्वाधिनता, भौगोलिक अखण्डता, समावेशीता, समृद्धि, सुशासन, सामाजिक न्याय र समतामूलक समाज निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
उनले भनिन्, ‘सामूदायिक अध्ययन केन्द्र प्रत्येक वडामा हुनुपर्छ । सात वटा प्रदेशमध्ये ३ वटा प्रदेश साक्षर घोषणा गरिएको र ४ वटा प्रदेश घोषणा गर्न बाँकी नै छ । कुनै क्षेत्र विशेष साक्षर घोषणा हुनेबित्तिकै अनौपचारिक शिक्षा बन्द गर्नुहुँदैन । निरक्षरलाई साक्षर बनाउनु नै अनौपचारिक शिक्षाको उद्देश्य हो ।’
कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य महेन्द्र यादवले अन्याय अत्याचारविरुद्ध जसपाले निरन्तर आवाज उठाएको बताए । उनले रुपन्देहीमा जसपालाई पहिलो पार्टी बनाउन लागिपरेको बताए ।
कार्यक्रममा जसपा केन्द्रीय सदस्य रीता यादव, जसपा नेतृ गीता पाण्डे, पार्टीका संघीय परिषद सदस्य तथा रोहणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, रुपन्देही जिल्ला निवर्तमान अध्यक्ष रामअवतार यादव, जिल्ला अध्यक्ष सियाराम यादव, विद्यार्थी जिल्ला इञ्चार्ज राहुल यादव, समाजवादी युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष विकास यादव, जसपा सिद्धार्थनगर उपाध्यक्ष मनोज प्रजापति, सदरे आलमलगायतले शिक्षा क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको बताए ।
जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवको अध्यक्षता, उपाध्यक्ष कलामुद्दीन खाँको स्वागत तथा सचिव विष्णु अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
शुक्रबार रुपन्देही आएकी शिक्षा राज्यमन्त्री तथा जसपा नेतृ प्रमिला कुमारीलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जसपा नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij