
बुधवार , श्रावण २४, २०८०
बुटवल, २४ साउन ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपसभामुख पुष्पा भुसालले प्रतिपक्ष दल नेकपा एमालेले पछिल्लो समय संसदलाई बन्दक बनाउन खोजेको आरोप लगाएकी छन् । सुशासन भित्रपर्ने अपराध, प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै केही दिन यता संसद अवरुद्ध हुँदै आएको प्रसंगलाई उठाउँदै उनले यस्तो बताएकी हुन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा भुसालले प्रदेश संरचना सञ्चालन लगायत विषयले केन्द्रीय राजनीतिलाई उथलपुथल गराउँदै आएको बताइन् । साथै उनले जनताको प्रिय पार्टी बनाउनका लागि अहिले काँग्रेसले आफ्ना संगठनहरुलाई मजबुत बनाउन देशभर अभियान चलाएको स्पष्ट पारिन ।
सुशासन कायम राख्न समावेशी, समृद्धि आवश्यक रहेको भन्दै काँग्रेस विचारको रुपमा बलियो पार्टी भएको उनले दावी गरिन् । पार्टीको नेतृत्व परिवर्तनकोे बिषयमा बाहिर अनावश्यक टिका–टिप्पणी गर्नुभन्दा आवश्यक समय र ठाउँमा रहेर अगाडी बढ्दा पार्टीको हित हुने उनले बताइन् ।
पूर्वउपसभामुख भुसालले हिजोको दिनमा गणतन्त्र र संसदमाथि प्रहार हुँदै जाँदा प्रणालीलाई बचाउनका लागि गठबन्धन गरिएको उल्लेख गरिन् । उनले वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोको प्रभाव, चरम महंगी लगायत जनजीविकाको अवस्था दयनीय बन्दै गएको बेला संसदबाट समाधानका उपाय निकाल्दै सम्बोधन गर्नुपर्नेमा प्रमुख प्रतिपक्ष दल संसद अवरुद्धतिर लाग्नु लोकतान्त्रिक प्रणालीलाई कतै कमजोर बनाउन चाहेको त होइन भन्ने आशंकाका प्रश्नहरु उठिरहेको बताइन् । उनले भनिन्, ‘यस अर्थमा प्रतिपक्ष दलले आफ्नै समय बर्बाद गर्दै गएको छ । सदन प्रतिपक्षीको भए पनि दलहरुले सदुपयोग गर्न सकिरहेका छैनन् ।’
भ्रष्टाचार र अख्तियार निवारण निर्णय काँग्रेसले गरेको भन्दै नेपाली कांग्रेस सधै सुशासनको पक्षमा रहेको उनले बताइन् । भसालले विगतमा ललिता निवास प्रकरण मात्रै होइन, ओम्नी, सेक्युरिटी प्रिटिंङ प्रेस मेसिन खरिद प्रक्रियाको ७० करोड बारेमा कांग्रेसले संसदमा आवाज उठाएको तर संसद अवरोध नगरेको स्मरण गराइ्न ।
भुसालले तत्काल सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको भन्दै यो गठबन्धन सरकार पाँच वर्षसम्म नै टिक्ने दावी गरिन् ।
साक्षात्कारमा नेपाली काँग्रेस क्षेत्रीय सभापति क्षेत्र नम्बर १ का सभापति ततथा देवदह नगरपालिकाका निवर्तमान प्रमुख (मेयर) हिरा बहादुर खत्री, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालयका अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij