२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

राप्रपा नेपालको केन्द्रीय समिति बैठक भदौ ७ बाट

मंगलवार , श्रावण २३, २०८०

काठमाडौं २३ साउन । 
राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी भदौ ७ र ८ गते काठमाडौंमा बोलाइएको छ । राप्रपा नेपाल पुनर्जागरण पश्चात् यो बैठक पार्टी जीवनको निमित्त अत्यन्तै महत्वपूर्ण रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्रसहित जनआन्दोलनको खाका समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

‘यो बैठक पार्टीको भावी कार्यदिशा र कार्ययोजनासहित सैद्वान्तिक वैचारिक पक्षलाई थप स्पष्ट पार्दै अघि बढ्नेछ’ महामन्त्री बर्तौलाले भने । संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्यको लागि संघर्षको बाटो बैठकले तय गर्ने उनले बताए । विभिन्न व्यक्ति समूह, अभियान, पार्टीमा रहेका राष्ट्रवादी प्रजातान्त्रिक शक्तिलाई एकै ठाउँमा ल्याउन पार्टीले भरमग्दुर प्रयास गर्ने तथा राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन सबैको साथ, सहयोग र समर्थन लिने गरी पार्टीलाई अघि बढाइने कार्ययोजना प्रस्तुत हुने जनाइएको छ ।

बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाकासहित महामन्त्री भाष्कर भद्राको सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धि प्रतिवेदन, महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिबवदनसहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले प्रतिबेदन पेश गर्नेछ । राप्रपा नेपालसंग एकताको लागि सडक संघर्ष न्यूनतम बटमलाईन रहने स्रोतले बताएको छ ।