
सोमवार , श्रावण २२, २०८०
भैरहवा, २२ साउन ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. लुम्बिनीरोड, भैरहवाले मस्तिष्क तथा नशा रोग (न्यूरो सर्जरी) विशेषज्ञ सेवा सञ्चालनमा ल्याएको छ । हस्पिटलले यही साउन १५ गतेदेखि यो सेवा सञ्चालनमा ल्याएको आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेलले लामो अनुभव प्राप्त डाक्टरद्वारा उपचार हुने २४ सै घण्टा न्यूरो सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने, ‘यस हस्पिटलले बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै सबैखालका रोगको सहज तरिकाले उपचार गर्ने क्रममा हालसम्म नेपालका विभिन्न प्रतिष्ठित अस्पतालमा लामो समय अनुभवप्राप्त वरिष्ठ डाक्टर तथा टीमद्वारा अन्य सबै डिपार्टमेन्टहरु सञ्चालन गरिरहँदा टाउकोमा चोटपटक लाग्ने, रगत जम्ने तथा चोटपटकका प्रायजसो बिरामीलाई न्यूरो सेवा अत्यावश्यक हुने गरेको र यस क्षेत्रमा गुणस्तरीय सुविधासम्पन्न न्यूरो सर्जरी सेवाको अभाव महसुस भइरहेकाले यो सेवा सञ्चालनमा ल्याइएको हो । ’
सडक दुर्घटनाबाट घाइते बिरामीलाई दक्ष डाक्टर तथा स्तरीय मेसिन औजारको अभाव तथा खोजीमा भौतारिनु नपर्ने गरी सिद्धार्थनगर सिटी हस्टिपलमा न्यूरो सर्जरीमा न्यूरो सर्जन डा. नरेन्द्र प्रसाद बाँस्कोटा तथा अर्थोपेडिक सर्जन प्रा.डा. जावेद आलम खान र टीमद्वारा सबैखालका उपचार पद्दतिबाट सफल उपचार गरिने पौडेलले बताए ।
त्यस्तै न्यूरो सर्जरी सेवा प्रदान गर्नका लागि नर्भिक हस्पिटल, नेपाली सेनाको अस्पताल तथा मेडिकल कलेज, नेपालगंज मेडिकल कलेजलगायतका अस्पतालमा लामो समय अनुभवप्राप्त एम.सी.एच. न्यूरो सर्जन डा. नरेन्द्र प्रसाद बाँस्कोटा सिद्धार्थनगर सिटी हस्पिटलमा फूल टाईमर डाक्टरको रुपमा नियुक्त भइ सेवा सुरु गरिएको उनले बताए ।
न्यूरो सर्जरी अन्तर्गत हस्पिटलमा टाउकोमा कुनै पनि खालको चोटहरु तथा रगत जमेका बिरामी, टाउकोमा ट्युमर भएमा, मेरुदण्डमा ट्युमर भएका बिरामी, मस्तिष्क घात भएमा (रगतको नशा फुटेर वा नशामा रगत जमेर), मेरुदण्डमा चोटपटक लागेका वा नशा च्यापिएका बिरामी, टाउको दुखिरहने, वान्त हुने गरेमा, प्यारालाईसिस भएका वा प्यारालाईसिसका लक्षणहरु देखिएका बिरामी जस्तै : अकस्मात आँखा, कान कमजोर हुने, बोली लरबराउने, मुख बांगिने, बेहोस हुने, मिर्गी, चरिफाइ, छारे रोग, दौरा हुने बिरामी, हातगोडा झमझमाउने, पोल्ने भएमा उपचार गरिने उनले जानकारी दिए ।
हस्पिटलले हाल अत्याधुनिक ल्याब उपकरणसहित छिटोछरितो सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सम्पूर्ण किसिमका ल्याब परीषकहरु एउटै छानामुनी गर्न सक्ने उच्च श्रेणीको ल्याब, ६४ स्लाइस सिटी स्क्यान, डिजिटल एक्स–रे र भिडियो एक्स–रे सेवा सञ्चालन गर्दै आएको प्रबन्ध निर्देशक पौडेलले बताए ।
सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का अध्यक्ष तथा मृगौला रोग विशेषज्ञ डा. सुवोध कुमार पाण्डेयले हस्पिटलले सम्पूर्ण सेवा सुविधा उपलब्ध गराउन प्रयासरत रहेको जानकारी दिए ।
हस्पिटलका विजनेश म्यानेजर पंकज कुमार पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
२०६८ भदौमा १५ शैयाबाट स्वीकृत लिइ सेवा शुभारम्भ गरेको सिद्धार्थनगर सिटी हस्पिटलले हाल १ सय शैयामा स्तरवृद्धि हुँदै आफ्नै भवनमा सञ्चालन गर्दै आएको छ । अस्पतालले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij