२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

आँखा उपचार केन्द्रहरुको वार्षिक समीक्षा

शुक्रवार , श्रावण १९, २०८०

तिलोत्तमा, १९ साउन ।
नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पताल अन्तर्गत सञ्चालित आँखा उपचार केन्द्रहरुको वार्षिक समीक्षा एवं कार्यक्रम तर्जुमा गोष्ठी सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्ने वक्ताहरुले आँखा उपचार केन्द्रहरुलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले नेपाल नेत्र ज्योति संघको समन्वयमा गाउँगाउँमा भएका उपचार केन्द्रका कारण उपचारमा सहज भएको उल्लेख गर्दै अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणाले आँखा अस्पतालले आँखा उपचारलाई सबैको पहुँचमा लैजाने गरी काम गरिरहेको उल्लेख गरे । उनले आँखाको उपचारका लागि अस्पतालले समय समयमा घुम्ती सेवा समेत दिदै आएको बताए । 

सह-प्रा.डा.कबिन्द्र बज्राचार्यको स्वागत तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर प्रा. डा. ज्ञानेन्द्र लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरई, सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तव लगायतले बोलेका थिए । 

कार्यक्रममा अस्पताल अन्तर्गत सञ्चालित ८ वटा आँखा उपचार केन्द्रका इञ्चार्जहरुले आर्थिक वर्ष २०७९।२०८० को १ वर्षमा सम्पन्न गरेका कार्यहरु तथा आर्थिक पक्षको बारेमा जानकारी गराएका थिए । उनीहरुले आउने दिनहरुमा गर्ने कार्यक्रमहरुबारे पनि जानकारी गराएका थिए । नेपाल नेत्र ज्योति संघ लुम्बिनी प्रदेशका सचिव राजेन्द्र प्रसाद पन्थी र गणेश बहादुर क्षेत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा वर्षभरी उत्कृष्ट कार्य गर्ने रोहिणी आँखा उपचार केन्द्रलाई चिफ मेडिकल डाईरेक्टर प्रोत्साहन पुरस्कारबाट सम्मान गरिएको अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयले जानकारी दिए  ।