
शुक्रवार , श्रावण १९, २०८०
भैरहवा, १९ साउन ।
इनरह्वील क्लब अफ लुम्बिनीको सातौं पदस्थापन समारोह बिहीबार भैरहवामा सम्पन्न भएको छ । समारोहमा वर्ष २०२३/०२४ का लागि चयन भएका नयाँ कार्यसमितिलाई पदस्थापन गराइएको थियो । कार्यक्रममा क्लबकी वर्ष २०२२/०२३ की अध्यक्ष रुविता पुलामी कार्कीले वर्ष २०२३/०२४ की अध्यक्ष सिर्जना जोशीलाई पद हस्तान्तरण गरेकी थिइन् ।
वर्ष २०२३/०२४ को निवर्तमान अध्यक्षमा रुविता पुलामी कार्की, उपाध्यक्षमा विना भण्डारी पाठक, सचिवमा कोपिला मरासिनी, कोषाध्यक्षमा नारायणी नेपाल, आएसओमा गायत्री अर्याल र एडिटरमा कमला भट्टराई रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सुनिता लम्साल, अनिता चौधरी, सविता तुलाधर, देवकला भण्डारी, विनिता नेपाल, मनु पाण्डे, मन्जु त्रिपाठी, संगिता भट्टराई, सुस्मा शर्मा, अर्चना मल्ल, कानन जयसवाल, रेखा कुमारी थापा (निलम), तारा कुमारी बोगटी र पवित्रा पन्थी रहेका छन् ।
क्लबको संस्थापक अध्यक्षमा ज्ञानु पौड्याल, पूर्वअध्यक्षहरुमा रचना शर्मा, बिना अग्रवाल, सीता भट्टराई, रचना क्षेत्री र मीना नेपाल पन्थी रहेका छन् ।
पदभार ग्रहण गर्दै क्लबकी वर्ष २०२३/०२४ की अध्यक्ष सिर्जना जोशीले वर्ष २०२२/०२३ को कार्यकाल सफलतापूर्वक सम्पन्न गर्ने रुविता पुलामी कार्कीको टीमलाई बधाई दिइन् । उनले आफूलाई अध्यक्षको जिम्मेवारी प्रदान गर्ने क्लब परिवारप्रति आभार व्यक्त गरिन् । उनले क्लबको गरिमा बढाउन प्रयासरत रहने बताइन् ।
त्यस्तै कार्यक्रममा वर्ष २०२२/२३ की अध्यक्ष रुविता पुलामी कार्कीले आफ्नो कार्यकालमा भएका कार्यहरुबारे प्रतिवेदन प्रस्तुतीकरण गरेकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि इनरह्वील क्लब डिष्ट्रिक ३५० नेपालकी डिष्ट्रिक प्रेसिडेन्ट टुना थापाले परिवारको सहयोग बिना अगाडि बढ्न नसकिने भएकाले परिवारलाई साथमा लिएर अगाडि बढ्न आग्रह गरिन् । उनले आफूले सिकेका कुराहरु अरुलाई पनि सिकाउनुपर्ने बताइन् । उनले इनरह्वील क्लब अफ लुम्बिनीले राम्रो कामहरु गरेको बताइन् । उनले भनिन्, ‘भविष्य उज्जवल बनाउन मानसिक स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । अस्वस्थ भएर काम गर्न ग्राहो हुन्छ ।’
विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले सोचमा परिवर्तन आवश्यक रहेकोमा जोड दिइन् । उनले सडक, नाला बन्न मात्र विकास नभएको बताइन् । नगर उपप्रमुख अधिकारीले महिलाको सहभागीता मात्र नभइ अर्थपूर्ण सहभागीता आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘हामीलाई हाम्रो घरको साथ छ भने सफल हुन्छौं ।’
इनरह्वील क्लब अफ लुम्बिनीकी संस्थापक अध्यक्ष तथा इनरह्वील क्लब डिष्ट्रिक ३५० नेपालकी एडिटर ज्ञानु पौड्यालले सोचेको काम पूरा गर्न मिहिनेत र लगनशीलता आवश्यक रहेको बताइन् । उनले भनिन्, ‘मानिस कहिल्यै पूर्ण हुँदैन । नयाँ सोचका साथ अघि बढ्नुपर्छ । काम गर्ने वातावरण भए राम्रो काम गर्न सकिन्छ ।’
क्लबकी पूर्व अध्यक्ष रचना क्षेत्रीले इनरह्वील क्लबको यात्रा यहाँसम्म आइपुगेको बताइन् । उनले आफूले क्लबको सदस्यदेखि अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएको बताइन् ।
क्लबकी पूर्व अध्यक्ष सीता भट्टराईले सफलता भन्दा ठूलो आत्मसन्तुष्टि भएको बताइन् ।
ब्रह्माकुमारी ईश्वरी विश्वविद्यालय भैरहवाकी क्षेत्रीय प्रमुख शान्ति सुवेदीले समयको परिवर्तनसँगै विभिन्न परिवर्तन भएको बताइन् । उनले धन, पद र प्रतिष्ठा मात्र सफलता नभएको र पदमा नरहे पनि सामाजिक भाव रहे राम्रो हुजे बताइन् ।
समाजसेवी तथा पर्यटन व्यवसायी संजीव जोशीले इनरह्वील क्लब महिला मात्र आबद्ध भएको क्लब रहेको र केही गरेर देखाउँछु भन्ने अठोट लिएर अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रपतिबाट प्रदान गरिने सुप्रवल जनसेवा श्री पदकबाट विषूषित इनरह्वील क्लब अफ लुम्बिनीकी अध्यक्ष ज्ञानु पौड्याललाई सम्मान गरिएको थियो । त्यस्तै क्लबको डिजिटल डाइरेक्टरीसमेत विमोचन गरिएको थियो ।
कार्यक्रममा हेभेन्ली गार्डेन किड्स क्याम्पसमा अध्ययनरत विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रम संयोजक कमला भट्टराईको स्वागत तथा इनरह्वील क्लब अफ लुम्बिनीकी उपाध्यक्ष बिना भण्डारी पाठकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij