२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

डेंगु नियन्त्रणमा सरकार गम्भीर हुनुपर्छ : कांग्रेस

बिहिवार , श्रावण १८, २०८०

काठमाडौं, १८ साउन । 
सत्तारूढ दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार पार्टी मुख्य सचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

अहिले कांग्रेसकै नेता मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । पार्टीले स्थानीय सरकार, स्वास्थ्यसँग सम्बद्ध संघ–संस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न अपिल पनि गरेको छ ।

साथै, रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न कांग्रेसका स्थानीय नेता एवं पार्टी सदस्यलाई आह्वान पनि गरिएको छ ।

‘डेंगु रोगको महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौंको ज्यान गइसकेको छ । उक्त रोगको संक्रमणका कारण सयौँको संख्यामा नागरिक सिकिस्त बिरामी परेका छन् । रोग फैलिने क्रम रोकिएको छैन, विज्ञप्तिमा लेखिएको छ, ‘समाजमा यसको त्रास फैलिएको छ । अतः सो सम्बन्धमा बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँछ ।’