२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

भ्रष्टाचार मुद्दामा आफ्ना नेताहरुलाई बचाउने वर्तमान सरकारको प्रपञ्च : प्रदीप ज्ञवाली

बिहिवार , श्रावण १८, २०८०

रुपन्देही, १८ साउन । 
नेकपा (एमाले) का उपमहासचिव तथा पूर्व पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न भ्रष्टाचारका काण्डहरुमा वर्तमान सरकारले आफ्ना नेताहरुलाई जोगाउने प्रपञ्च गरिहेको बताएका छन् । पछिल्लो समय चर्चामा रहेको सुनकाण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आउँदा पनि सरकारले उनीहरुलाई बचाउने प्रयास गरेको आरोप लगाए । सुन तस्करीका घटनामा नाम जोडिएका नेताहरुलाई उन्मुक्ति दिएर अनुसन्धानलाई मोड्ने काम गरेको उनले टिप्पणी गरे । यसैकारण एमालेले भ्रष्टाचार छानबीनका लागि उच्चस्तरीय आयोग गठनको माग अघि बढाएको प्रस्ट पारे । 

स्व. नेता जीवराज आश्रितको ८० औं जन्मजयन्तीको अवसरमा बुधबार रुपन्देहीको बुटवलमा आयोजित विचार गोष्ठीमा बोल्दै एमाले उपमहासचिव ज्ञवालीले भ्रष्टाचारसम्बन्धि मुद्दाहरुमा वर्तमान सरकारले देखाएको प्रवृत्तिमाथि टिप्पणी गरे । भ्रष्टाचारसम्बन्धि मुद्दामा सरकारले गरिरहेको छानबीनप्रति शंका व्यक्त गर्दै नेता ज्ञवालीले भने ‘सरकार आफैको हात सफा छैन । यसले न अनुहारको कालो पुछ्न सक्छ, न ऐनाको कालो पुछ्न सक्छ ।’

त्यसै गरी मुलुकको आर्थिक अवस्थाप्रति सरकार गम्भिर नभएको टिप्पणी गर्दै नेता ज्ञवालीले मुलुकले इतिहासकै कमजोर आर्थिक अवस्थाको सामना गर्नुपर्ने उल्लेख गरे । ‘इतिहासमै पहिलोपटक रास्श्व संकलन गरेर कर्मचारीलाई तलब पुर्याउन समेत नसक्ने अवस्था सिर्जना भएको छ । निर्माण व्यवसायीहरुले काम पूरा गरेर पनि ८० अर्ब बढी भुक्तानी पाउन सकेका छैनन् ।’–नेता ज्ञवालीले भने, ‘प्रत्येकदिन आर्थिक संकटका कारण व्यवसायीले आत्महत्या गरिरहेको खबर बाहिर आएको छ । तर, सरकार र मन्त्रीहरु भने केही नभएको जस्तो गरेर बसिरहेका छन् ।’

प्रत्येक दिन व्यवसायिक प्रतिष्ठान तथा सटरहरु खाली हुँदै गएको उल्लेख गर्दै उनले सरकारले सीमित व्यापारीलाई मात्रै पोष्ने काम गरेको टिप्पणी गरे । करको दरमा स्वार्थ अनुसार परिमार्जन गर्ने गरेका उदाहरणहरु प्रस्तुत गर्दै नेता ज्ञवालीले वर्तमान सरकारले सीमित व्यापारीलाई काखी च्यापेर अरुलाई पाखा लगाउने काम गरेको उल्लेख गरे । 

नेपालको असंलग्न राष्ट्रको नीतिलाई कुल्चेर एक पक्षलाई मात्रै काखी च्याप्ने सरकारको प्रवृत्तिले मुलुकमा सुरक्षा चुनौती समेत थपिएको उल्लेख गरे । ‘हाम्रो राष्ट्रियतामाथि कालो बादल मडारिएको छ ।’–ज्ञवालीले भने, सरकार भने आफ्नो सत्ता टिकाउनका लागि असंलग्न राष्ट्रको नीतिलाई तोड्दै गएको छ । दक्षिण एसियामा शक्ति राष्ट्रहरुको उदय हुँदै जानु र युरोपीयन मुलुक तथा सर्वशक्तिमान मानिएको अमेरीकाको प्रभाव कम हुँदै जाँदा शक्ति संघर्षले त्यसको नकारात्मक प्रभाव नेपालमा पनि पर्ने उल्लेख गरे ।

विश्वको राजनीतिक तरल अवस्थामा रहेको बताउँदै उक्त कुरालाई बेवास्ता गरेर वर्तमान सरकारले अन्तर्राष्ट्रिय कुटनीतिमा लिने गरेको असंलग्न राष्ट्रको नीतिलाई छोड्दै जाँदा समस्या आउन सक्नेतर्फ सचेत गराए । 

कार्यक्रममा डा. मुरारी पराजुलीले प्रस्तुत गरेको ‘प्रगतिशिल संस्कृतिको निर्माणमा जीवराज आश्रितको दृष्टिकोण’ विषयक अवधारणापत्रमा विचार व्यक्त गर्दै एमाले उपमहासचिव ज्ञवालीले पार्टीभित्र अराजकता देखिएको भन्दै चिन्ता व्यक्त गरे । यसको समाधानका लागि जस्वराजको विचार अनुशरण गर्नुपर्ने बताए । नयाँ शक्तिहरुप्रति इंगित गर्दै ज्ञवालीले पछि दर्ता हुँदैमा र पछि जन्मिदैमा नयाँ हुने नभइ विचारले नयाँ हुन आवश्यक रहेको उल्लेख गरे । जीवराजको विचार र उनको जिवनीबाट पाठ सिक्दै पार्टीलाई सदृढ गरी बलियो राष्ट्रिय शक्ति निर्माणमा लाग्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे । 

जीवराज आश्रित प्रतिष्ठान नेपाल र नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीको संयुक्त आयोजनामा ‘प्रगतिशिल संस्कृतिको निर्माणमा जीवराज आश्रितको दृष्टिकोण’ विषय विचार गोष्ठी आयोजना गरिएको थियो ।