
बिहिवार , श्रावण १८, २०८०
भैरहवा, १८ साउन ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाले बिहीबार बधाइ तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय अध्यक्षमा हालै निर्वाचित रुपन्देही शाखाका पूर्वअध्यक्ष समेत रहेका प्राध्यापक सुर्दशन प्रसाद नेपाललाई बधाई तथा शुभकामना गरिएको रेडक्रस रुपन्देहीले जनाएको छ ।
भैरहवामा एक कार्यक्रमको आयोजना गरी नेपाललाई सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको हो । रेडक्रस रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उनले सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालले आफ्नो क्षमताले भ्याएसम्म रेडक्रसमार्फत विभिन्न कार्यक्रम गर्ने बताए ।
कार्यक्रममा रेडक्रसका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनी, सिद्धार्थनगर–५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठ, रेडक्रसका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठ, स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा, रेडक्रस रुपन्देहीका निवर्तमान सभापति प्रेमलाल उदासलगायतले बोल्दै जीवनभर रेडक्रसमा काम गरेका सुर्दशन नेपाल केन्द्रीय अध्यक्ष भएकोमा खुशी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
रेडक्रस रुपन्देही शाखाका उपसभापति मित्रलाल न्यौपानेको स्वागत मन्तव्य तथा मन्त्री रामचन्द्र उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij