२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

रास्वपा सिद्धार्थनगर–८ को भेला, सभापतिमा कार्की

बिहिवार , श्रावण १८, २०८०

भैरहवा, १८ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगरपालिका–८, रुपन्देहीको पूर्ण भेला बुधबार भैरहवामा सम्पन्न भएको छ । भेलाले श्रवण कुमार कार्की (भरत) को सभापतित्वमा ११ सदस्यीय वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उपसभापतिमा शारदा देवी रेग्मी र सचिवमा उदय बहादुर कार्की रहेका छन् ।

त्यस्तै सदस्यहरुमा गोकुल वि.क., इन्दिरा गौतम, गीता पराजुली, सरिता परियार, दान बहादुर बलाल, हरि प्रसाद आचार्य, रवि घिमिरे र मित्रलाल गौतम रहेका छन् । त्यसै गरी सल्लाहकारमा रुद्र बहादुर पछाई, मनिलाल खरेल, कविन भट्टराई, चन्द्रकला खनाल र हरिजंग पौड्याल क्षेत्री रहेका छन् ।

यसअघि वडामा तदर्थ समिति बनाइएकोमा अहिले वडा समितिले पूर्णता पाएको रास्वपा सिद्धार्थनगर–८ ले जनाएको छ । वडा समितिका पदाधिकारी र सदस्यहरुलाई रास्वपा लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेले सपथग्रहण गराएका थिए । 

भेलालाई सम्बोधन गर्दै रास्वपा लुम्बिनी प्रदेश सदस्य तथा रुपन्देही जिल्ला संयोजक डा. बुद्धि प्रसाद शर्माले मुलुकमा व्यापत भ्रष्टाचार, अनियमिता हटाउन र नेपाललाई समृद्ध बनाउन रास्वपा स्थापना भएको बताए । उनले सरकारप्रति जनताको विश्वास नभएको र राजनीतिक अस्थिरताका कारण जनता मर्कामा परेको बताए । उनले सुन तस्करलाई सरकारले संरक्षण गर्न खोजीरहेको जस्तो देखिएको बताए । उनले भने, ‘निस्वार्थ ढंगले राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ ।’

त्यस्तै पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा उद्योग–वाणिज्य विभाग प्रमुख जीत बहादुर गुप्ता (शेखर) ले अवसरको खोजीका लागि राजनीति गर्न नहुने बताए । उनले भने, ‘राजनीति देशका लागि गर्ने हो । राजनीति के हो र किन गरिरहेका छौं, यो कुरा बुझ्नुपर्छ ।’

रास्वपा सिद्धार्थनगर समितिका संयोजक सुमन न्यौपानेले पुराना पार्टीले अहिलेसम्म के गरे भन्नेबारे जवाफ दिन नसकेको बताए । उनले जनताको हकहितका लागि अघि बढेको बताए ।

रास्वपा सिद्धार्थनगर समिति सदस्य लक्ष्मी अधिकारीको स्वागत तथा उदय बहादुर कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।