२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

कमल थापाले राजेन्द्र लिङ्देनलाई भने–सडकमा आउनोस्, सँगै आन्दोलन गरौं

बुधवार , श्रावण १७, २०८०

काठमाडौं, १७ साउन ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नाम लिँदै सत्ताको फोहोरी खेलमा नलागी आन्दोलनको लागि सडकमा आउन आग्रह गरेका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत समारोहमा बोल्दै थापाले  पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शनअनुसार सत्ता केन्द्रित नभई विचार र आदर्श केन्द्रित भएर राप्रपा अघि बढे नेतृत्वमा पनि समस्या नहुने स्पष्ट पारे ।

थापाले भने, ‘संघीय गणतन्त्रको नाममा अहिले कायम रहेको भ्रष्ट व्यवस्थाको लागि जनआन्दोलनको विकल्प छैन । राप्रपाले सडकमा आउने हिम्मत गरोस् ।  हामीसँगै आन्दोलनमा जान तयार छौँ । नेतृत्व समस्याको विषय हुँदैन ।’

थापाले केशरबहादुर बिष्ट, दुर्गा प्रसाईं, किशोरी महतो लगायत विभिन्न समूहमा रहेका शक्तिहरुलाई पनि एकताबद्ध भएर आन्दोलनको आधिबेहरी सृजना गर्ने अभियानमा संलग्न हुन आह्वान गरे । ‘अहिले हामीलाई आन्दोलन चाहिएको छ, निकास चाहिएको छ, विकास चाहिएको छ, भ्रष्टाचारको अन्त्य हाम्रो चाहना हो,’ भन्दै थापाले भने, ‘ अहिले हामी सबै यो आन्दोलनको सिपाहीको रुपमा रहने र पद प्रतिष्ठा गौण विषय हो ।’