२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

ज्ञानेन्द्र शाही भन्छन्–भरिया समातेर सरकारले ठूला माछालाई संरक्षण गर्‍यो

बुधवार , श्रावण १७, २०८०

धनगढी, १७ साउन । 
प्रतिनीधि सभा सदस्य ज्ञानेन्द्र शाहीले सरकार ठूला भ्रष्ट्राचारीलाई संरक्षण गरेर भरियालाई समात्न केन्द्रित हुन थालेको आरोप लगाएका छन् । ‘सरकारले ललिता निवास प्रकरणमा जग्गा किन्नेलाई समातेको छ,’ शाहीले भने, ‘तर जग्गा व्यक्तिको नाममा सार्न दिने निर्णय गर्ने तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललाई संरक्षण गरेको छ, त्यति मात्र नभइ ललिता निवासको जग्गा पहिला नाममा गर्ने जग्गाधनीलाई पनि सरकारले समातेको छैन, जग्गा किन्ने कसरी दोषी हुन्छन् ?’

उनले एक क्वीन्टल सुन प्रकरणमा पनि भरियालाई समातेको र सुन तस्करीलाई सरकारलेनै संरक्षण गरेको आरोप लगाए । 

सुन तस्करी काण्डको छानविन गर्न राप्रपा, नेकपा एमाले लगायतका दलले उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरिएकोमा सरकारले त्यसलाई वेवास्ता गरेको प्रतिनिधि सभा सदस्य शाहीले बताए । उच्चस्तरीय छानविन समिति गठन गर्दा सरकारमा सहभागी दलबाटै धेरै नेताको संलग्नता देखिने डरले प्रधानमन्त्रीलेनै उच्चस्तरीय छानविन समिति गठनको मागलाई वेवास्ता गरेको शाहीको आरोप छ ।

‘सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख कृष्ण महाराको संलग्नता रहेको प्रहरीको रिपोर्टले प्रष्ट देखाइसकेको छ,’ शाहीले भने, ‘त्यसलाई सरकारले नसुने जस्तो गरेको छ, किनकी माओवादी केन्द्रले त्यसमा छानविन गरेमा सो पार्टीका धेरै नेता फस्नेवाला छन् ।’ एक क्वीन्टल सुन भित्र्याउन सरकारकै मन्त्रीको प्रत्यक्ष संलग्नता रहेको उनको आरोप छ ।

यी दुई वटा घटनाबाटै नै सरकार ठूला माछालाई लुकाएर भ्रष्ट्राचार नियन्त्रण लागेजस्तो मात्रै गरेको प्रष्ट हुने उनले बताए । उनले सरकार जनताका आँखामा छारो हालेर स्सतो लोकप्रियता कमाउनतर्फ लागेको भन्दै त्यसको प्रयास धेरै नटिक्ने बताए । पहिला हतियार बोकेर जनतालाई तर्साउने माओवादी केन्द्रले अहिले क्यामरको आडमा जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाए ।

त्यसका लागि माओवादी केन्द्रले ठूला सञ्चार प्रतिष्ठानलाई  प्रलोभनमा पारेर आफ्नो पक्षमा ल्याएको उनले बताए । राप्रपा सुदूरपश्चिम प्रदेश समितिको १३ औं बैठक तथा नवीन राप्रपाको अवधारणा बारे जानकारी दिन बुधबार राप्रपा प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।