
बुधवार , श्रावण १७, २०८०
भैरहवा, १७ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९, रुपन्देहीको पूर्ण भेला मंगलबार सम्पन्न भएको छ । भैरहवामा भएको भेलाले ओमराज पन्तको सभापतित्वमा वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
जसको उपसभापतिमा कमला मरासिनी र सचिवमा रामबहादुर थापा रहेका छन् । त्यस्तै सदस्यहरुमा हरि बहादुर नेपाली, शर्मिला भण्डारी सुवेदी, गोविन्दराज खनाल, कल्पना पंगेनी पाण्डे, पूजा आचार्य, नवराज भण्डारी र ऋषि भुसाल रहेका छन् । त्यस्तै सल्लाहकारमा मेग बहादुर खत्री र नरबहादुर सुनार रहेका छन् ।
यसअघि तदर्थ समिति बनाइएकोमा अहिले भेला गरी समितिलाई पूर्णता दिइएको रास्वपा सिद्धार्थनगर–९ ले जनाएको छ । रास्वपा सिद्धार्थनगर–९ वडा समितिका पदाधिकारी तथा सदस्यहरुलाई पार्टीका लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेले शपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा बोल्दै रास्वपा लुम्बिनी प्रदेश इञ्चार्ज गणेश पौडेलले पार्टी स्थापनाकालको छोटो अवधिमै रास्वपा मुलुकको चौथो शक्ति बन्न सफल भएको बताए । उनले भने, ‘व्यवस्था नभइ अवस्था परिवर्तन गर्नुपर्छ । पार्टीले संवैधानिक समाजवादलाई अंगीकार गरेको छ । ’
नेता पौडेलले देश र जनताको अवस्था झन पछि झन दयनीय बनेकाले रास्वपालाई जनताले एकपटक मौका दिनुपर्ने बताए । उनले पार्टीले स्पष्ट रुपमा विचार, एजेण्डा अघि सारेको बताए । पार्टीलाई कसरी अगाडि बढाउने सन्दर्भमा नेता कार्यकर्ताहरु गम्भिर भएर लाग्नुपर्ने उनको भनाइ छ ।
पार्टीका लुम्बिनी प्रदेश भ्रष्टाचार निवारण विभाग प्रमुख नरेश पछाईले पार्टीले सत्ता पक्ष र प्रतिपक्षी नभनी सहीलाई सही र गलतलाई गलत भन्ने बताए । उनले रास्वपा समाजमा रहेका विकृति विसंगतिविरुद्ध लड्ने बताए ।
रास्वपा लुम्बिनी प्रदेश सदस्य तथा उद्योग–वाणिज्य विभाग प्रमुख जीत बहादुर गुप्ता (शेखर) ले रास्वपाले जनताको भावना बुझेको दावी गरे । उनले भने, ‘रास्वपा अन्य पार्टी भन्दा फरक छ ।’
पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा रुपन्देही जिल्ला निवर्तमान संयोजक प्रकाश ज्ञवालीले रास्वपाबाट जनताले आशा गरेको बताए । उनले पार्टी विकृति, विसंगतिविरुद्ध अघि बढेको बताए ।
कार्यक्रममा रास्वपा क्षेत्रीय सदस्य सुनैना केसी, विष्णु गौतम, ओम पौडेल, सिद्धार्थनगर नगर समिति संयोजक सुमन न्यौपाने, लुम्बिनी प्रदेश सल्लाहकार विनोद खरेल, कमला मरासिनी, ओमराज पन्त, रामबहादुर थापालगायतले बोल्दै पुराना पार्टीले जनता र मुलुकको पक्षमा काम गर्न नसकेकाले २०८४ को निर्वाचनमा रास्वपालाई दुईतिहाई बहुमतका साथ जिताउनुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij