
मंगलवार , श्रावण १६, २०८०
भैरहवा, १६ साउन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मायादेवी गाउँपालिका वडा नम्बर ८, रुपन्देहीको वडा भेला तथा संगठन विस्तार कार्यक्रम मंगलबार सम्पन्न भएको छ । मायादेवी–८ स्थित बसडिलवामा भएको भेलाले बलराम खरेलको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । जसको उप–सभापतिमा प्रशान्त कुँवर र सचिवमा नरहरि सुवेदी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा मायादेवी अधिकारी, दोप्रती देवी थारु, बेद बहादुर बस्नेत, राम बहादुर वि.क., पार्वती काफ्ले यादव, कुल प्रसाद काफ्ले (विष्णु) र विनोद अर्याल रहेका छन् । त्यस्तै वरिष्ठ सल्लाहकारमा तारा प्रसाद जैसीलाई चयन गरिएको छ । यसअघि तदर्थ समिति बनाइएकोमा अहिले वडा कार्यसमितिले पूर्णता पाएको रास्वपा मायादेवी–८ ले जनाएको छ ।
कार्यक्रममा बोल्दै रास्वपा लुम्बिनी प्रदेश इञ्चार्ज गणेश पौडेलले पार्टीको विचार, भिजन र कार्यदिशा स्पष्ट रहेको बताए । उनले रास्वपाले संवैधानिक समाजवादलाई अंगीकार गरेको बताए । उनले भने, ‘हामी सहीलाई सही र गलतलाई गलत भन्छौं, रास्वपा अन्य पार्टी भन्दा फरक छ ।’ रास्वपाले देशको समस्या र जनताको अवस्थालाई राम्रोसँग बुझेको उनले दावी गरे । जनताको अवस्था बदल्न रास्वपाको स्थापना भएको नेता पौडेलको भनाइ छ। उनले निर्यातमुखी अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै पार्टीका लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरेले रास्वपाप्रति जनताको आशा–भरोसा रहेको बताए । उनले भने, ‘रास्वपा जुन लक्ष्य लिएर अघि बढेको छ, त्यो मध्ये मिसन–२०८४ पनि हो । यहाँ स्वार्थको राजनीति हुँदैन ।’
रास्वपा लुम्बिनी प्रदेश भष्टाचार निवारण विभाग प्रमुख नरेश पछाईले रास्वपा जनताको पार्टी भएको बताए । उनले पार्टीभित्र प्रत्येक कमिटीको भूमिका महत्वपूर्ण रहेको बताए ।
पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा उद्योग–वाणिज्य विभाग प्रमुख जीत बहादुर गुप्ता (शेखर)ले पुराना पार्टीका कारण मुलुकको विकास हुन नसकेको बताए । उनले रास्वपा छोटो समयमा राष्ट्रको चौथो शक्ति भएको बताए । नेता गुप्ताले अवस्था परिवर्तन गर्न असल व्यक्ति पदमा पुग्नुपर्ने धारणा राखे ।
रास्वपा क्षेत्रीय समिति सदस्य मधु प्रसाद अर्यालले पार्टी निर्माणमा सानो गतिविधिले ठूलो असर पार्ने बताए । उनले रास्वपा जन्मेको कारण र परिस्थिति बिर्सन नहुने बताए ।
कार्यक्रममा लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याएका तथा मुनलाईट आवासीय माविका संस्थापक समेत रहेका भाष्कारानन्द शर्मा (बी.एन.) शर्माले आगामी दिनमा रास्वपा उच्च शिखरमा पुग्ने बताए । उनले भने, ‘आगामी दिनमा रास्वपा सबैभन्दा अगाडि देखिने विश्वास छ ।’
पार्टीका क्षेत्रीय समिति सदस्य ओम पौडेल, मायादेवी गाउँपालिका संयोजक हरि बहादुर कुँवर, तारा प्रसाद जैसी, बलराम खरेल, कुल प्रसाद काफ्ले (विष्णु) लगायतले बोल्दै २०८४ सालमा हुने निर्वाचनमा जनताले रास्वपालाई दुईतिहाई बहुमत दिनुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij