
आइतवार , श्रावण १४, २०८०
बुटवल, १४ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनीधि सभा सदस्य प्रदिप पौडेलले सुन काण्डको गहिराईमा पुगेर अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले भरिया मात्रै नभएर योजनाकारसम्म पुग्नेगरी अनुसन्धान गर्न आग्रह गर्दै सामान्य मजदुरको टाउकोमा मात्रै दोस थुपार्ने काम नगर्न आग्रह गरे ।
नेपाल प्रेस युनियन रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सुन तस्करीमा संलग्न व्यक्ति पक्राउ परेपछि संसद अवरोध गर्ने काम पनि राम्रो नभएको बताउनुभयो ।
उनले त्यो काण्डको बिरोध गर्ने राम्रो कुरा भएपनि अनुसन्धान हुँदा हुँदै विरोध तथा संसद अवरोध गर्ने काम राम्रो नभएको बताए । उनले सुन काण्डमा जरैसम्म पुगेर अनुसन्धान गर्न र मुख्य योजनाकारलाई समात्न आग्रह गर्दै अनुसन्धान गरेझै गर्ने, सामान्य मजदुरको टाउकोमा दोस थुपारेर दोसीलाई उम्काउने काम भयो भने गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था पनि आउन सक्ने बताउनुभयो ।
उनले मुलुकमा भ्रष्टाचार बढेकोले भ्रष्टाचार रोक्नको लागि दलहरु जिम्मेवार हुनुपर्ने बताए । पुँजीगत खर्चभन्दा चालुखर्च चारगुणा बढी भएको बताउँदै उनले त्यसलाई पनि पुरा खर्च गर्न नसकिएको बताए । विगत १५ वर्षको तथ्यांकमा ८५ प्रतिशत भन्दा बढी पुँजीगत खर्च हुन नसकेको बताउँदै भष्टाचार,अनियमितताले नै यति धेरै वेरुजु निस्किएको उल्लेख गरे ।
प्रतिनीधि सभामा सांसद संख्या घटाउनु पर्ने,मन्त्रीपरिषको आकार पनि सिमित संख्याको बनाउनु पर्नेमा जोड दिए । हालै सम्पन्न पार्टीको केन्र्दीय समिति बैठकमा पनि यो कुरा उठाएको बताउँदै उहाँले भन्नुभयो–‘प्रतिनीधि सभाको संख्या घटाएर २०१ बनाउन सकिन्छ, त्यसै अनुसार प्रदेश सभाको पनि संख्या घटाउन सकिन्छ ।
त्यसमा समावेशी चरित्रको हुँदैनकी भन्ने चिन्ता होला, त्यो पनि मिलाउन सकिन्छ ।’ नेता पौडेलले संघीयतालाई बलियो बनाउनको लागि पनि राजनीतिक तथा प्रशासनिक खर्च घटाउनु पर्ने बताउनुभयो ।
काँग्रेस मासवेस्ड चरित्रको पार्टी भएकाले मासवेस्ड पार्टीका मुल्य मान्यताहरुलाई अवलम्बन गर्नुपर्ने बताउँदै पार्टीमा एकैप्रकृतिको सदस्य संरचना, जनताको भावनाको तथा उनीहरुको समस्यामा सम्बोधन लगायतका कुरामा अझै सुधार गर्न खाँचो रहेको बताउनुभयो ।
पार्टीको केन्द्रीय समितिको बैठक लाईभ गरेर पनि मास वेस्ड पार्टीको चरित्र प्रदर्शन गरेको बताउँदै अब हुने बैठकमा पनि लाईभ हुने बताउनुभयो । ‘अब हुने बैठकमा पनि लाईभ हुन्छ ।’ उहाँले भन्नुभयो–‘अब पछाडि फर्किन मिल्दैन ।’ कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij