२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

‘डेंगी रोकथाम तथा नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक’

बिहिवार , श्रावण ११, २०८०

भैरहवा, ११ साउन ।
डेंगी रोकथाम तथा नियन्त्रण गर्नका लागि सामूहिक प्रयास आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । उनीहरुले डेंगी नियन्त्रणका लागि समुदाय नै लाग्नुपर्नेमा जोड दिए ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाले बुधबार भैरहवामा आयोजना गरेको डेंगी रोकथाम तथा नियन्त्रण कार्यक्रमअन्तर्गत सरोकारवालाहरुसँग समन्वयात्मक कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा स्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख गौरव ढकालले लामखुट्टेको टोकाइबाट बच्न सके डेंगीबाट बच्न सकिने बतए । उनले जीवनशैलीका कारण चुनौती रहेको बताए । उनले भने, ‘डेंगी रोग लागिसकेपछि यसले दुःख दिन्छ । पीडादायी अवस्था आउँछ । सकेसम्म रोग लाग्न नदिनु नै उपयुक्त हुन्छ । ’

डेंगुको प्रकोप बढ्न थालेकाले सचेतना आवश्यक रहेको उनको भनाइ छ । लामखुट्टेले दिउँसो टोकेर डेंगु लाग्ने भएकाले अझ बढी सतर्कता आवश्यक रहेको ढकालले बताए । उनले डेंगी रोकथाम तथा नियन्त्रणका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘जोखिममा रहेका समूहलाई अझ ध्यान दिनुपर्छ । ’ 

रेडक्रसले हात हालेको क्षेत्र सफल हुँदै आएको बताउँदै उनले रेडक्रस सहभागी भएको कार्यक्रम फितलो भए प्रश्न उठ्ने भएकाले कार्यक्रम सफल बनाउनुपर्ने बताए । उनले अघिल्लो वर्ष भन्दा अहिले डेंगु रोकथाम तथा नियन्त्रणका लागि अझ राम्रो काम गर्नुपर्ने बताए । 

त्यस्तै नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले शहरमा डेंगु संक्रमणको जोखिम अझ धेरै भएकाले बढी सतर्कता अपनाउनुपर्नेमा जोड दिए । उनले सरसफाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, चनाखो हुनुपर्छ । सचेतना कार्यक्रमलाई जोड दिनुपर्छ ।

रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका सभापति कृष्ण पंगेनीले डेंगुको रोकथाम तथा नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । उनले स्थानीय सरकार, महिला स्वास्थ्य स्वयंसेविका, महिला समूह लगायतको प्रयास अझ सार्थक बन्ने बताए ।

रेडक्रस सोसाइटी बेलहिया उपशाखाका सभापति सुमन शर्माले अघिल्लो वर्ष पनि डेंगुविरुद्ध अभियान सञ्चालन गरेको र यसवर्ष पनि रक्तदान कार्यक्रम गरिसकेको बताए । उनले अब जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले सुरुवातको अवस्थामा सचेत हुन सके भयावह अवस्था नआउने बताए । उनले कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ साहले डेंगुको संक्रमण पुससम्म देखिने भएकाले निगरानी राख्नुपर्ने बताए । उनले पूर्वतयारीमा लागेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका यमलाल भुसाल, देवदह नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे, सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख गीता न्यौपाने पोखरेल, रेडक्रस सोसाइटी रुपन्देहीका कार्यसमिति सदस्य टेक बहादुर थापा, सैनामैना उपशाखा सभापति दिनेश पौडेल, सिद्धार्थनगर उपशाखा सचिव राजेश जि.सी., रेडक्रस रुपन्देही जिल्ला शाखाका वरिष्ठ अधिकृत कृष्ण मल्ल, वरिष्ठ सहायक सुरक्षा भट्टराईलगायतले बोल्दै डेंगु नियन्त्रणका लागि सहकार्य आवश्यक रहेको बताए ।

रेडक्रस रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेको सभापतित्व, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालको प्रमुख आतिथ्यता, रेडक्रस रुपन्देहीका उप–कोषाध्यक्ष दिनेश पन्थीको स्वागत तथा मन्त्री रामचन्द्र उपाध्यायको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।