
शनिवार , श्रावण ६, २०८०
बारा, ६ साउन ।
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले मधेशको समृद्धि एमालेबाट मात्रै सम्भव रहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाराले सिमरामा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले उपमहासचिव ज्ञवालीले मधेश समृद्ध नभएसम्म देशको मुहार नफेरिने बताए ।
‘मधेशमा लामो समय नेपाली कांग्रेसले र २०६४ यता मधेश केन्दित दलहरूले राज गरिरहे पनि विकास, स्वास्थ्य र शिक्षाको आवस्था विकट जिल्ला कर्णालीको भन्दा पनि कमजोर पारिएको छ । यो मधेशका लागि दुःखदायी विषय हो’, उनले भने ।
एमालेको स्कुल विभाग प्रमुखसमेत रहेका पूर्वमन्त्री ज्ञवालीले पछिल्लो राजनैतिक घटनाक्रम र सरकार सञ्चालनप्रति इंगित गर्दै वर्तमान् सरकार देश र जनताका पक्षमा नभइ विदेशीको हितमा काम गरिरहेको आरोप लगाए ।
प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमण नेपालका हितमा भन्दा पनि भारतको इच्छा पुरा गरिदिने कडी बनेको उनको भनाइ थियो । ‘भारतले चाहेका जलविद्युत आयोजना नेपालका तर्फबाट जिम्मा लगाउने काम भयो । भारतले २७ वर्षदेखि अलपत्र पारिएको माथिल्लो कर्णालीका सम्बन्धमा कुनै सम्वाद नगरी थप दुईवटा आयोजना पुनः जिम्मा लगाउने काम भएको छ,’ उनले भने ।
यस्तै सरकारले ललिता निवास र भुटानी शरणार्थी प्रकरणमा स्टन्ट गरिरहेको उनको भनाइ थियो । भ्रष्टाचारको छानबीन गर्न पहिला सरकारमा रहेकाहरु सफा हुनुपर्ने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij