
शनिवार , श्रावण ६, २०८०
भैरहवा, ६ साउन ।
जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवलाई पार्टीले कारवाही गरेपछि उक्त कारवाहीप्रति पार्टीका कार्यकर्ताहरुले असुन्तष्टी जनाएका छन् । केन्द्रीय सचिव यादवले केन्द्रको निर्देशन उल्लंघन गरेको र गर्न लगाएको र गुटबन्दी गरेको भन्दै पार्टीको केन्द्रीय सचिवालयबाट ३ महिनाको निलम्बन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साउन ३ गते बुधबार पार्टीको अनुशासन समितिका प्रमुखको रोहबरमा बसेको बैठकले छानबीन समितिको प्रतिवेदनमाथि विचार गरी केन्द्रीय सचिव यादवसहित ५ जनालाई कारवाही गरिएको विज्ञप्तीमा भनिएको छ ।
बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, शंकर खडका, रुपन्देहीबाट भोपेन्द्र यादव र कपिलवस्तुबाट भगवानदास यादवलाई विभिन्न किसिमको कारवाही गरिएको उल्लेख गर्दै केन्द्रीय अनुशासन समितिका प्रमुख तथा राष्ट्रिय उपाध्यक्ष ई. दीपक कुमार साहले विज्ञप्ती जारी गरेका छन् ।
रुपन्देहीका निवासी यादवलाई कारवाहीको जानकारी साथ जनमत पार्टीकै नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत विरोध गर्न सुरु गरेका छन् । सचिव यादवको राजनीतिक इतिहासलाई उजागर गर्दै उनीमाथि अन्याय गरिएको भन्दै नेता कार्यकताहरुले विरोध जनाएका छन् । यादवमाथिको कारवाहीप्रति असन्तुष्टी जनाउँदै रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके, बर्दियालगायत विभिन्न जिल्लाका कार्यकर्ताहरु सामाजिक सञ्जालमा विरोध जनाएका हुन् ।
भोपेन्द्र यादव उक्त पार्टीको तत्कालीन स्वतन्त्र मधेश गठबन्धनदेखि नै विभिन्न जिल्लाका नेतृत्व गर्दै समाज र पार्टीको लागि विभिन्न किसिमको यातनासमेत खेपेका नेता कार्यकर्ता बताउँछन् । नेता कार्यकर्ताहरुका अनुसार जनमत पार्टीलाई बलियो बनाउन र संगठन निर्माणमा यादव अहरोत्र खटिएका छन् ।
पार्टीको लक्ष्य, उद्देश्य तथा नीति पूरा गर्न उनी धेरैपटक प्रहरीको हिरासतमा परी विभिन्न किसिमले यातना समेत भोगेको नेता कार्यकर्ताहरुको भनाइ छ । नेता यादव विगतको मधेश आन्दोलन, नागरिकता विधेयकसम्बन्धी आन्दोलन, किसान आन्दोलनलगायत विभिन्न अन्दोलनमा सक्रिय रुपले विभिन्न ठाउँमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको जनमत पार्टीका नेता कार्यकर्ता बताउँछन् ।
शिक्षक जनमत संघका केन्द्रीय सदस्य तथा २०७९ सालमा रुपन्देहीको गैडहवा गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार बनेका रामदेव यादवले भोपेन्द्र पार्टीमा संगठन बनाउने सक्ने र लामो समयदेखि पार्टीमा सक्रियतापूर्वक काम गरेको भए पनि केन्द्रले किन कारवाही गर्यो भन्नेमा आफूहरु अलमलमा परेको बताए । उनले भने, ‘भोपेन्द्रज्यूको केन्द्रीय अध्यक्षसँग पनि राम्रो सम्बन्ध थियो जुन संगठनलाई राम्रो र बलियो बनाउने काम भइरहेको थियो । किन कारवाही गरियो ? म आफै अचम्म छु ।’
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नेता यादव रुपन्देही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए । यस विषयमा नेता भोपेन्द्र प्रसाद यादवसँग जिज्ञासा राख्दा प्रतिक्रिया दिन चाहेनन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij