२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

अनलाइनबाटै राप्रपाको सदस्य बन्न सकिने, एकवर्षमा २ लाख सक्रिय सदस्य बनाउने

शुक्रवार , आषाढ २९, २०८०

काठमाडौं, २९ असार ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीको सक्रिय सदस्य बन्न अनलाइनबाटै आवेदन दिन सकिने जनाएको छ । गत १ देखि ३ जेठसम्म चलेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले संशोधनसहित पारित राजनीतिक कार्यपत्रअनुसार विभिन्न समयमा बसेको कार्यसम्पादन समिति तथा पदाधिकारीहरूको बैठकले तयार गरेको ‘राप्रपा : अब नवीन राप्रपा कार्ययोजना २०८०’अन्तर्गत केही मूलभूत बुँदाहरू सार्वजनिक गर्दै प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सक्रिय सदस्य बन्न अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको जानकारी दिए । 

उनका अनुसार अनलाइनबाटै साधारण, सक्रिय सदस्य बन्न तथा आर्थिक सहयोग पनि गर्न सकिनेछ । एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्याउने लक्ष्य लिएको राप्रपाले राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धी पार्टीको अवधारणालाई जनतासमक्ष पुर्याउने लक्ष्य लिएको छ । 

भ्रष्टाचार र भ्रष्टाचारका विरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने, पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने, ६ महिना भित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गर्नेजस्ता राप्रपाले लक्ष्य लिएको छ । 

राप्रपाले लिएको लक्ष्य बुँदामा 

● ६ महिना भित्रमा पार्टीको सबै तहमा ३३ प्रतिशत महिलाको संख्या सुनिश्चित गरिनेछ ।

● पार्टीको सबै तहमा ४० वर्षसम्मका युवाहरूको अनिवार्य सहभागिताको व्यवस्था मिलाउन केन्द्रीय कार्यसमितिमा ४० तथा कार्यसम्पादन समितिमा कम्तिमा ७ जना विभिन्न प्रक्रियाबाट अनिवार्य ४० वर्षसम्मका युवाहरूको प्रतिनिधित्व गराइनेछ ।

● पार्टीले आगामी दिनमा विभिन्न तहमा उम्मेदवार बनाउँदा ५० प्रतिशत प्राइमरी छनौट प्रक्रिया अपनाइनेछ।

● केन्द्र, प्रदेश, जिल्लास्तरीय नेता तथा जनवर्गीय संगठनका प्रतिनिधिहरू समेत गरेर करिब ९०० जना नेताहरूलाई एकैसाथ संगठन बिस्तारका लागि भूगोल केन्द्रीत जिम्मेवारी प्रदान गरिएको छ।

● एकैसाथ ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडा तथा प्रवासमा समेत यो जिम्मेवारी तोकिएको छ । यसरी भूगोलमा जिम्मेवारी प्राप्त नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म तोकिए अनुसारको संगठन बिस्तार र सुदृढिकरणका काम गर्नुपर्नेछ।

● यस अन्तर्गत राजसंस्था, हिन्दुराष्ट्र र संघीयता सम्बन्धित पार्टीको अवधारणालाई जनसमक्ष पुर्याउने ।

● भ्रष्टाचार र भ्रष्टाचारकाविरुद्ध पार्टीको अवधारणालाई प्राथमिकताका साथ राख्ने ।

● पार्टी प्रवेश तथा छोराछोरी पुस्तालाई राप्रपामा जोड्ने विशेष अभियान सञ्चालन गर्ने ।

● स्थानीय पार्टी कार्यकर्तालाई सामाजिक क्रियाकलापमा परिचालन गरिनेछ ।

● यसरी भूगोल केन्द्रीत विशेष जिम्मेवारी अन्तर्गत अध्यक्ष राजेन्द्र लिङदेन धरान उपमहानगर पालिका, उपाध्यक्षहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुव प्रधान, रोशन कार्की, हेमजंग गुरुङ, मुकुन्दश्याम गिरी, उद्धव पौडेल क्रमश....

● तोकिएको भूगोलको जिम्मेवारीमा नजाने नेता स्वतः पदीय जिम्मेवारीबाट मुक्त हुनेछन् ।

● भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेताहरूले आफ्नो दैनिक क्रियाकलाप विधुतीय माध्यमबाट सचिवालयमा नियमित रूपमा पेश गर्नुपर्ने ।

● राप्रपामा अब काम नगरी नेता हुन नपाईने ब्यवस्था मिलाइएको छ ।

● भूगोल केन्द्रीत जिम्मेवारीमा रहेका नेता तथा विभिन्न तहका कार्यसमितिका क्रियाकलापको समन्वय तथा अनुगमनका लागि सातवटै प्रदेशमा संयोजक तथा सह–संयोजकको व्यवस्था मिलाइएको छ ।

● अबबाट विधुतीय माध्यमबाटै साधारण, सक्रिय सदस्य बन्न साथै आर्थिक सहयोग पनि गर्न सकिनेछ ।

● एकवर्ष भित्रमा सक्रिय सदस्य संख्या दुई लाख पुर्याइनेछ ।

● ६ महिना भित्रमा १६५ निर्वाचन क्षेत्रसम्म प्रशिक्षण कार्यक्रम सम्पन्न गरिनेछ ।

● सरकारी वेतनधारीहरूको भातृ संगठनलाई शुभेच्छुक संगठनमा परिणत गरिनेछ ।

● विद्यार्थी संगठनलाई राजनीतिक कम शैक्षिक बढी क्रियाकलापमा संलग्न गराइनेछ । मूलतःविश्वविद्यालयमा गैरराजनीतिक संगठनका रूपमा क्रियाशील रहनेछ ।

● जिम्मेवारीमा रहेका सबैका लागि १ बाट ३ सदस्यता अभियान सञ्चालन गर्ने ।

● माथिका सबै क्रियाकलाप ६ महिना पछिपनि निरन्तर रहनेछ ।

● ६ महिनापछि भूगोलको जिम्मेवारी भने हेरफेर हुनेछ ।

● माथिको ६ महिने क्रियाकलाप सम्पन्न भएपछि जनजिविकाका सवाल तथा मान्यता स्थापना उद्देश्यका लागि जनदवाव सिर्जनाका लागि क्रियाकलापहरू अगाडि बढाइनेछ ।