२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

अर्घाखाँचीका गाउँगाउँमा अर्यालको सक्रियता, २०८४ मा दुईतिहाइ ल्याउने दावी

मंगलवार , आषाढ २६, २०८०

अर्घाखाँची, २६ असार ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोल प्रसाद अर्याल यतिबेला अर्घाखाँची गुल्मी तथा पाल्पा क्षेत्रमा राजनीतिक भेटघाटमा व्यस्त छन् ।

आइतबार बिहानबाट राजनीतिक भेटघाट तथा छलफल सुरु गरिरहेका अर्यालले आइतबार दिनभर अर्घाखाँची जिल्लाका विभिन्न स्थानहरुमा छलफल तथा भेटघाट गरेका थिए भने आइतबार मात्रै शीतगंगा नगरपालिका वडा नं. ५ जुकेनामा पार्टी कार्यालय उद्घाटन गरेका थिए ।

आइतबार दिनभर कपिलवस्तुको चार नम्बर, गोरुसिंगेसहित अर्घाखाँची जिल्लाको पत्थरकोट, भेडामारे, ठाडा जुकेना तथा सुपा देउरालीमा भेटघाट गरेका अर्याल सोमबार पनि दिनभर भेटघाट तथा छलफलमै व्यस्त रहे ।
पार्टीका केन्द्रीय सदस्य अर्जुन अधिकारी र लुम्विनी प्रदेश समितिको टीमसहित अर्घाखाँची पुगेका अर्यालले सोमबार बिहानै सन्धिखर्कमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै जिल्ला पार्टी कार्यालयको उद्घाटन गरेका थिए । 

जिल्ला सम्पर्क कार्यालय उद्घाटनसँगै अर्यालसहितको टोलीले सोमबार सन्धिखर्क नगरपालिका वडा नं. ५ को वाङ्ला हुँदै छत्रदेवका विभिन्न वडाहरुमा भेटघाट गरेको पार्टीका अर्घाखाँची संयोजक हरिप्रसाद भुसालले जानकारी दिए । ‘उपसभापतिज्यू यतिबेला स्थानीय जनताको बस्ती बस्तीमा पुग्नुभएको छ । नेता भुसालले भने, ‘आइतबार र सोमबार अर्घाखाँचीमा व्यस्त रहनुभएका अर्याल भोली भने गुल्मी, पाल्पा हुँदै काठमाण्डौ फर्कनुहुनेछ ।’

सदस्यहरुसँग भेटघाटको क्रममा निस्किएका अर्यालले २४ गते साँझ सन्धिखर्क सदरमुकाममा पत्रकारहरुसँग भेटघाट कार्यक्रमसमेत गरेका थिए । पत्रकार सम्मेलनमा अर्यालले जनता पार्टी परिवर्तन गरिहाल्ने भन्दा पनि मत परिवर्तनको लागि तयार रहेको आफूले पाएको बताएका थिए ।

पत्रकारहरुकोबीचमा अर्यालले आगामी निर्वाचनमा आफ्नो दलले दुईतिहाइको लक्ष्य बनाएको भए पनि सहज रुपमा बहुमत प्राप्त गर्ने दावी गरेका थिए ।

अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित टोप बहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल चलान भएको बेला भएको उपसभापतिको जिल्ला भ्रमणलाई अर्घाखाँचीमा चासोका साथ हेरिएको छ । उपसभापति अर्यालले उपनिर्वाचन भए पनि अर्घाखाँचीमा रास्वपाले जीत निकाल्ने दावी गरेका थिए ।