२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

ललिता निवास प्रकरणमा मेरो कुनै सम्बन्ध र संलग्नता छैन : दीनानाथ शर्मा

आइतवार , आषाढ २४, २०८०

काठमाडौं, २४ असार । 
पूर्व शिक्षामन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सचिव दीनानाथ शर्माले कुनै संलग्नता र सम्बन्ध नभएको विषयमा आफ्नो नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन् ।

ललिता निवास प्रकरणसम्बन्धी समाचारमा आफ्नो नाम जोडिएकोप्रति नेता शर्माले आपत्ति प्रकट गरेका हुन् ।
आइतबार एक प्रेस नोट जारी गर्दै नेता शर्माले प्रकाशित समाचारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै २०६८/२०६९ मा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको मन्त्रिपरिषदमा बसेर करिब १५ महिना शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकोमा आफू जिम्मेवार रहेको मन्त्रालयबाहेक भूमिसुधार, भौतिक योजना वा गृहसमेतका अन्य मन्त्रालयको मन्त्रालयगत कामकारवाही र निर्णय प्रक्रियामा आफ्नो कुनै संलग्नता र सम्बन्ध नहुने र नरहेको कुरा प्रष्ट पारेका छन् । 

आफ्नो व्यक्तिगत जीवनमा अन्यथा हुने गरी प्रकाशित समाचारको भ्रममा नपर्न उनले सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, समर्थक तथा आम जनसमुदाय सबैमा अनुरोध समेत गरेका छन् ।

भ्रष्टाचार र अनियमितता हाम्रो देशको गम्भीर समस्या भएको उल्लेख गर्दै शर्माले प्रकाशित गरेको प्रेस नोटमा यस्तो विकृति र विसंगतिका विरुद्ध कडाइका साथ कारवाही हुनुपर्दछ भन्ने मान्यतामा नेकपा (माओवादी केन्द्र) र आफू सदा दृढतापूर्वक प्रतिवद्ध रहेकोसमेत उनले विज्ञप्तीमार्फत बताएका छन् ।

‘हाम्रो पार्टीका अध्यक्ष क. पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानबाट अत्तालिएका विभिन्न पक्षले हाम्रो पार्टी र नेताहरुकाविरुद्ध फैलाउने अनर्गल दुष्प्रचार र भ्रममा कोही नपर्न तथा सुशासन र पारदर्शीताको पक्षमा उभिन समेत अपील गर्न चाहन्छु ।’ उनले विज्ञप्तिमा लेखेका छन् ।