२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

लुम्बिनी वाणिज्य क्याम्पसलाई बहूसंकाय क्याम्पसको रुपमा विकास गरिने

आइतवार , आषाढ २४, २०८०

बुटवल, २४ असार ।
बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै बहूसंकाय क्याम्पसको रुपमा विकास गर्ने योजना अगाडी सारिएको छ । क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को १३ औं सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना अगाडी बढाइएको बताएका हुन् ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सभामा अध्यक्ष पाण्डेले हाल व्यवस्थापन संकायको मात्र पठनपाठन हुँंदै आएकोमा भविष्यमा मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै विज्ञान तथा प्रविधि संकाय थप गरी बहूसंकाय क्याम्पसको रुपमा विकास गर्ने योजना अगाडी बढाइएको बताए ।

अध्यक्ष पाण्डेले क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्न बुटवल १२ तामनगरस्थित चारपाला सामूदायिक वनको ३० विगाह जग्गा प्राप्तिको प्रक्रिया अगाडी बढाइएको र जग्गा प्राप्त भएपछि विश्वविद्यालयको लागि आवश्यक संरचना निर्माण गरिने बताए ।

अध्यक्ष पाण्डेले क्याम्पसले हाल त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति प्राप्त गरी ५ वटा स्वायत्त कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिए । पाण्डेकाअनुसार सेमेष्टर प्रणालीमा आधारित २ वर्षे मास्टर अफ म्यानेजमेन्ट स्टडिज र चारवर्षे ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन इन इन्फरमेसन टेक्नोलोजी संचालनका लागि पाठ्यक्रम निर्माण गरि त्रिभुवन विश्वविद्यालयमा पेश गरिसकेको छ ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले बुटवलको विकासमा लुम्बिनी वाणिज्य क्याम्पसको योगदान महत्वपूर्ण रहेको बताए । उनले यहाँका विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको वातावरण बनाउने लागि पनि लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय र बहूसंकाय क्याम्पसको रुपमा स्थापित गर्नुपर्ने बताए ।

क्याम्पस प्रमुख प्राध्यापक डा. ताराप्रसाद उपाध्यायले सबै संकायमा गरी ३ हजार २ सय १२ जना विद्यार्थी अध्ययनरत क्याम्पसले हालसम्म २०६८ र २०७५ सालमा गरि दुईपटक विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता एवं प्रत्यायन (क्यूएए) प्राप्त गर्न सफल भएको उल्लेख गरे । क्याम्पसले तेस्रो पटकको लागि पनि क्यूएए प्राप्तिको प्रक्रिया अगाडी बढाएको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए ।

तत्कालिन बुटवल नगर पञ्चायत तथा बुटवलका उद्योगी व्यवसायीहरुको अग्रसरतामा २०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक कक्षा सञ्चालन गरेको लुम्बिनी वाणिज्य क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी आईकम कक्षा सुरु गरेको थियो ।

पाँच वर्षपछि २०४२ सालमा स्नातक तहको वि.कम. र २०५७ सालमा स्नातकोत्तर तहको एमबीएस कक्षा संचालन गरेको क्याम्पस २०६३ सालमा ए स्किममा पर्न सफल भएको थियो ।

२०७० सालमा पहिलोपटक सेमेष्टर प्रणालीको बी.बी.एम. कक्षा सञ्चालन गरेको थियो । त्यस्तै २०७४ सालदेखि स्वायत्त कार्यक्रम अन्तर्गत एम.बी.ए. बी. एफ, २०७६ सालमा बी.बी.एफ.ए र एम.बी.एस. फाईनान्स तथा २०७७ सालबाट बी.बी.एम अप्लाईड र बी.एम.एस.का कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

क्याम्पस प्रमुख उपाध्यायले व्यवस्थापन विषय अध्यापन गराउने लुम्बिनी प्रदेशमा मात्र नभइ देशकै उत्कृष्ट क्याम्पस रहेको दावी गरे । उपाध्यायकाअनुसार २०७५ सालमा देशभरका सामूदायिक क्याम्पसहरुमध्ये सर्वोत्कृष्ट बनेको लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयमै उत्कृष्ट नतिजासहित १९ पटक गोल्डमेडल प्राप्त गरेका छन् ।

हाल ३० जना स्थायी र १४ जना आंशिक करार गरी ४४ जना प्राध्यापक तथा २४ जना कर्मचारी कार्यरत रहेको क्याम्पसले हरेक वर्ष २ जना प्राध्यापकलाई एम.फिल. तथा पी.एच.डी. अध्ययनको लागि ३ वर्षे तलबी अध्ययन विदा उपलब्ध गराउँदै आएको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए ।