२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

भैरहवामा आजदेखि रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण 

शुक्रवार , आषाढ २२, २०८०

भैरहवा, २२ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शुक्रबार (आज) देखि सुरु हुने भएको छ । रास्वपा लुम्बिनी प्रदेश कमिटीको आयोजनामा भैरहवामा दुईदिने प्रशिक्षण सुरु हुने पार्टीले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रशिक्षण कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्यहरु, विभाग सदस्यहरु, निर्वाचन क्षेत्र संयोजक र पालिका सभापतिहरुको उपस्थिति रहने रास्वपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष देवराज पाठकले बताए । प्रशिक्षण कार्यक्रमको शुक्रबार दिउँसो १२ः३० बजे रास्वपाका केन्द्रीय उपसभापति डी.पी. अर्यालले उद्घाटन गर्ने कार्यक्रम रहेको पाठकले जानकारी दिए ।

भैरहवास्थित एसियन बुद्ध होटल हुने कार्यक्रममा पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति डी.पी. अर्याल, प्रवक्ता डा. मुकुल ढकाल, सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रतिनिधिसभा सदस्य मनिष झा, शिशिर खनाललगायत नेताहरुले प्रशिक्षण दिने उनले बताए । 

‘शुक्रबार र शनिबार सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा मुलुकलाई कसरी आर्थिक रुपमा समृद्ध बनाउन सकिन्छ र यसमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुनेछ, ’रास्वपा लुम्बिनी प्रदेश अध्यक्ष पाठकले भने । उनले समयअनुसार जनताको माग सम्बोधन गर्न नसक्ने पार्टी हराउने बताए । जनताको अपेक्षा सम्बोधन गर्ने पार्टी मात्रै अगाडि बढ्न सक्ने उनले दावी गरे । 

पार्टीका केन्द्रीय सभापति लामिछाने शनिबार (भोलि) भैरहवा आउने कार्यक्रम रहेको रास्वपा लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

रास्वपा लुम्बिनी प्रदेशका महामन्त्री निलराज अधिकारीले पार्टी स्थापना भएको छोटो समयमा जनताको मन जितेको र पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रमले सहयोग पुर्याउने बताए ।