
मंगलवार , आषाढ १९, २०८०
भैरहवा, १९ असार ।
नेपाली काँग्रेस रुपन्देहीले पार्टीका भातृ संगठन, शुभेच्छुक संघ–संस्थामा निर्वाचित अध्यक्ष तथा मनोनित भएकाहरुलाई सम्मान गरेको छ । काँग्रेस रुपन्देहीले मंगलबार भैरहवास्थित पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी पार्टीका भातृ तथा सुभेच्छुक संघ–संस्थामा निर्वाचित अध्यक्ष तथा मनोनित भएकाहरुलाई सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले भातृ तथा शुभेच्छुक संघ–संस्थाका गतिविधिले पार्टीलाई चलायमान बनाउने बताउँदै भातृ तथा शुभेच्छुक संघ–संस्थाहरुका गतिविधिलाई पार्टीले पनि अपनत्व ग्रहण गर्नुपर्ने बताइन् । उनले भातृ तथा शुभेच्छुक संघ–संस्थालाई चलायमान गराउने कुरामा पार्टीले सहयोग गर्नुपर्ने र त्यसमा पार्टी र व्यक्तिगत रुपमा आफू पनि सहयोग गर्न तयार रहेको भनाइ राखे ।
त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले चुनावका बेला कुनै समूहमा चुनाव लडे पनि जितिसकेपछि साझा भएर काम गर्न भातृ तथा शुभेच्छुक संघ–संस्थालाई आग्रह गरे । उनले भातृ तथा शुभेच्छुक संघ–संस्थाहरुका क्रियाकलापमा सहयोग गर्नका लागि पनि पार्टी नेतृत्व र स्थानीय तहमा निर्वाचित पार्टीका नेताहरुलाई आग्रह गरे ।
त्यसअवसरमा बोल्ने वक्ताहरुले पार्टीलाई साझा बनाउन र विधि र पद्दतिमा अगाडि बढाउन सुझाव दिएका थिए । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजीमान श्रेष्ठ, रुपन्देहीका अध्यक्ष रामप्रसाद ढकाल, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझी, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, नेपाल तरुण दलका केन्द्रीय सदस्य केशव पाण्डे, रुपन्देहीका अध्यक्ष सोमबहादुर गुरुङ, किसान संघ लुम्बिनी प्रदेश संयोजक वेगबहादुर कुवर, नेपाल ब्यूटिसियन संघ रुपन्देहीकी अध्यक्ष अनिता केसी, नेपाल निर्माण तथा संवद्ध श्रमिक संघ (काउन) रुपन्देहीका अध्यक्ष सुर्यदेव दासलगायतले बोलेका थिए । नेपाली काँग्रेस जिल्ला कार्यसमिति सचिव हरि काफ्लेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij