
मंगलवार , आषाढ १९, २०८०
भैरहवा, १९ असार ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३ मधवलियामा रहेको लुम्बिनी वर्ल्ड स्कूलले आफ्ना विद्यार्थीहरुलाई रोपाई गर्न सिकाएको छ । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानका साथै समयानुकुल समाजमा गरिने कामका विषयमा जानकारी दिनका लागि रोपाई गर्न सिकाइएको स्कूलले जनाएको छ ।
स्कूलले धान दिवसको अवसर पारेर धान रोपाईसहित विभिन्न कार्यक्रम गरेको छ । असार १५ मा मनाइने धान दिवसको अवसरमा बालबालिकालाई असारे गीत, किसानको महिमा तथा धान दिवसका विषयमा विद्यार्थीहरुले रचना गरेको कविता वाचन गर्नुका साथै आफूले सिकेका कुराहरुलाई अत्यन्तै रोचक र निर्भिक तरिकाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सिलौटो, डोको, नाम्लो, हंसिया, कुटो, कोदालो, हलो, जुवा, सेउ, ढकिया, पेरुङ्गो, गुन्द्रीजस्ता किसानहरुले प्रयोग गर्ने परम्परागत (पुराना) प्रविधिहरुको प्रदर्शनीसमेत गरिएको थियो ।
विद्यार्थीहरुलाई किसानले प्रयोग गर्ने औजारका विषयमा जानकारी दिने उद्देश्यले उक्त वस्तुहरुको प्रदर्शनी गरिएको स्कूलका शैक्षिक निर्देशक डा. मिनप्रसाद खनालले जानकारी दिए ।
असार १५ मा किन दहीचिउरा खाने चलन छ भन्ने बारेमा विद्यार्थी स्वयंलाई खोज अनुसन्धान गर्न लगाई उनीहरुले प्राप्त गरेका जानकारीहरुलाई प्रस्तुत गरेका थिए । सो अबसरमा स्कुलका प्राचार्य बिष्णुप्रसाद ढकाल, सहप्राचार्य लजिता शर्मा र रमेशमणि सुवेदीले असार १५ को महत्वका बिषयमा जानकारी दिएका थिए । त्यसैक्रममा सम्पूर्ण विद्यार्थीहरुलाई दही चिउराको महत्वका विषयमा बुझाई उनीहरुलाई दही चिउराको भोजन समेत गराइएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij