
सोमवार , आषाढ १८, २०८०
काठमाडौं, १८ असार । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकमा राजनीतिक परिवर्तन भए पनि शिक्षा क्षेत्रको सुधारमा सरकार चुकेको बताएका छन् ।
नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको १००औं जन्मजयन्ती तथा जीपी कोइराला मेमोरीयल (सामुदायीक) कलेजको १२ औं वार्षिक उत्सवका अवसरमा आज (सोमबार) आयोजित कार्यक्रमा बोल्दै महामन्त्री थापाले भने, ‘नेपाली नागरिकको जीवन बदल्ने सन्दर्भमा हामी चुकेको एउटा महत्वपूर्ण क्षेत्र भनेको शिक्षा क्षेत्र पनि हो । गएको १०/१२वर्षको विद्यालय शिक्षाको अवस्था हेर्ने हो भने ओरालो झर्दै गएको छ ।’
थापाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर तत्काल शिक्षा ऐन ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्दै ऐन पारित गर्न साथ दिने बताए । ‘यहि संसद भित्र हामीले अनेकौं काम ग¥यौं । तर, विद्यालय शिक्षालाई व्यवस्थित गर्ने संघीय शिक्षा ऐन हामीले बनाउनु पर्ने कुरा जहाँ बाट प्रारम्भ गर्नुपर्ने थियो त्यो नै गरेनौ । जस कारण संघीय व्यवस्थामा गैसके पछाडि पनि शिक्षाको व्यवस्थापन गर्ने आधारभूत कुराहरुबाट हामी चुकेका छौं,’थापाले भने ।
प्रतिनिधि सभा सदस्य समेत रहेका कांग्रेस महामन्त्री थापाले उच्च प्राथमिकतामा राखेर तत्काल संसदमा शिक्षा ऐन (विधेयक) ल्याइनु पर्नेमा जोड दिए । त्यसलाई उच्च प्राथमिकता दिएर पारित गर्नेपर्ने धारणा राख्दै थापाले कार्यक्रममा सहभागि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् ।
विश्व विद्यालयहरूको अवस्था कहाली लाग्दो रहेको जनाउँदै महामन्त्री थापाले रानीतिको चङ्गुलबाट विश्वविद्यालयलाई मुक्त गराउन विश्वविद्यालय ऐन ल्याउनु पर्नेमा पनि जोड दिए । ‘अहिले ऐतिहासिक निर्णय गर्ने बेला आएको छ, हाम्रो विश्व विद्यालयलाई राजनीतिक दलसंग शत प्रतिशत अलग गर्नुपर्छ,’महामन्त्री थापाले भने ।
प्राध्यापक,कर्मचारी, विद्यार्थीहरु राजनीतिक रुपले सचेत छन् र रहनु पर्नेमा जोड दिंदै थापाले थपे,‘त्यहाँ संघर्ष हुन्छ,प्रतिस्पर्धा,राजनीति सबै हुन्छ तर, दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाईदैन भन्ने कुरालाई स्थापित गर्नै पर्छ । यसका निम्ती भावनाले मात्र हुँदैन् कानून चाहिन्छ । विश्वविद्यालय ऐन ल्याउनुपर्छ ।’
वि.सं १९८१ असार १८ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम राखेका छन् । हिंसात्मक आन्दोलनमा रहेको तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याएसँगै कोइरालाको राष्ट्रियस्तरमा मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि छवि उच्च बन्न पुगेको थियो । २०४६ को राजनीतिक पछि पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुको साथै २०५३ साल देखि २०६६ साल सम्म कांग्रेस सभापतिको जिम्मेवारीमा थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij