२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

जनमतका नेताको असुन्तष्टी– जिल्लाको नेतृत्व दिने र लिने चानचुने कुरो होइन

आइतवार , आषाढ १७, २०८०

भैरहवा, १७ असार । 
जनमत पार्टीले रुपन्देही जिल्लामा नयाँ इन्चार्ज तोकेपछि पार्टीभित्र सो पार्टीका नेता रामदेव यादवले असन्तुष्टी व्यक्त गरेका छन् । जनमत शिक्षक संघका केन्द्रीय सदस्य यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टी व्यक्त गरेका हुन् । 

गत असार ५ गते पार्टीका केन्द्रीय अध्यक्ष डा. सी.के. राउतले अर्जुन प्रसाद जैसवाललाई जिल्ला इञ्चार्जको जिम्मेवारी तोकेपछि उनले शनिबार पदभार ग्रहण गरेका छन् । 

janamat iincharge.jpg

जैसवाल २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ को २ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए । संसदीय निर्वाचनअघि जनता समाजवादी पार्टी, नेपाल (जसपा) परित्याग गर्दै जैसवाल जनमतमा प्रवेश गरेका थिए ।

पदभार ग्रहणमा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजेन्द्र गुप्ता, पार्टी निकट जनजाति संघका केन्द्रीय सदस्य कैलाश गुरुङ, इञ्जिनियर जनमत संघका केन्द्रीय सदस्य प्रमोद राउत, पार्टीको रोहिणी गाउँपालिका अध्यक्ष विष्णु चौधरीलगायत नेता कार्यकर्ता उपस्थित रहेका थिए ।

सो पार्टीका नेता रामदेव यादवले रुपन्देहीमा पार्टी बनाउन, स्थानीय तह र प्रदेश सभाको निर्वाचनमा खटिएका नेतालाई बिर्सेर कसरी नेतृत्व चयन गरियो भनेर प्रश्न सामाजिक सञ्जाल फेसबुकमा नै उठाएका छन् । उनले पार्टीलाई बनाउने बेलामा खटिएका मान्छेलाई छाडेर अहिले अरुलाई जिम्मेवारी तोकिएकोमा असन्तुष्ट व्यक्त गर्दै यसरी पार्टी बलियो नहुने बताए । नेता यादवले लेखेका छन्, ‘जिल्लाको नेतृत्व दिने र लिने काम कुनै चानचुने कुरो होइन । यो एउटा अति नै संवेदशनील कुरो हो । तर, अहिलेको नेतृत्व कसरी र कुन थर्मामिटरले चयन गरिएको छ त्यो आम पार्टी पंक्तिका नेताकार्यकर्ताहरुले बुझ्न् सकिरहेका छैनन् र म पनि ।’ नेता यादव २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीको गैडहवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारसमेत थिए । यादवसहित जिल्लाका केही नेता कार्यकर्ताहरुले जयसवाललाई जिल्ला इञ्चार्ज तोकिएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

nnn.jpeg

जनमत पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजेन्द्र गुप्ताले पार्टी केन्द्रले गरेको निर्णय आफूले कार्यान्वयन गरेको बताउँदै जिम्मेवारी सबैलाई नपुग्ने भएकाले केही असन्तुष्टी हुनु स्वभाविक भएको बताए ।

पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवसँग जिज्ञासा राख्दै उनले यसबारे प्रतिक्रिया दिन चाहेनन् ।