२०८२, श्रावण २४ गते

Aug 09 2025 | २०८२, श्रावण २४ गते

संस्थापन पक्षका नेविसंघ नेताहरुले बिथोले कांग्रेस क्षेत्रीय भेला, प्रहरी परिचालन गरी कार्यक्रम सुचारु

शनिवार , आषाढ १६, २०८०

बुटवल, १६ असार ।
नेपाली कांग्रेस क्षेत्र नम्बर २ रुपन्देहीको क्षेत्रीय सम्मेलनमा संस्थापन पक्षका विद्यार्थी नेताहरुले कार्यक्रम बिथोल्ने प्रयास गरेका छन् । 

बुटवलको एक होटलमा सञ्चालन भइरहेको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले मन्तव्य राखेर निस्किएपछि संस्थापन पक्षधर नेपाल विद्यार्थी संघ (नेविसंघ) रुपन्देहीका सभापति सन्दीप पौडेल लगायतका विद्यार्थी नेताहरुले आफूहरुलाई आसनग्रहण नगराएको भन्दै कार्यक्रम बिथोल्ने प्रयास गरेका हुन् । 

संस्थापन समूहका विद्यार्थी नेताहरुले कार्यक्रमस्थलमा नाराबाजी गर्दै ब्यानर च्यातेका थिए भने कार्यक्रममा कुर्ची तोड्ने प्रयास समेत गरेका थिए । 

नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री जीवन परियार प्रमुख अतिथि रहेको कार्यक्रममा आमन्त्रण नै नगराएका व्यक्तिहरुले आसनग्रहण नगराएको भन्दै कार्यक्रम बिथोलेर अराजकता निम्त्याएको नेताहरुको भनाइ छ । 

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य दीर्घ बहादुर केसी (कुमार) ले विद्यार्थी नेताहरुले कांग्रेसका रुपन्देही सभापति रामकृष्ण खाँणको आडमा राजनीतिक अराजकता निम्त्याएको बताए । 

कार्यक्रम बिथोलिएपछि कांग्रेस नेता परियार र खाँणवीच फोनमा भनाभन भएको थियो । परियारले खाँणलाई फोन गर्दै पार्टीमा अराजकता ननिम्त्याउन आग्रह गरेका थिए । अहिले प्रहरी परिचालन गरेर कार्यक्रम सुचार गरिएको छ । पछिल्लो समय रुपन्देहीमा नेपाली कांग्रेसको संस्थापन पक्ष निरन्तर कमजोर हुँदै गए पनि संस्थापन पक्षले एकलौटी रुपमा मनोयन गरेका विद्यार्थी नेताहरु आत्तिन थालेकाे सस्थापन इतरकाे भनाइ छ।