
आइतवार , आषाढ १०, २०८०
काठमाडौं, १० असार ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले ७० वर्षे उमेर हद कायम गर्ने भएको छ ।काठमाडौंमा आजबाट सुरु हुने विधान अधिवेशनका लागि प्रस्तावित मस्यौदा विधानमा सो उमेर हदको व्यवस्था गरेको हो ।
केन्द्रिय समितिवाट हिजो अनुमोदित भएको सो विधान आजबाट सुरु हुने विधान अधिवेशनमा पेश गरिदैंछ ।
जसअनुसार ७० वर्ष उमेर भएको व्यक्तिले अब केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैनन । यो प्रस्ताव पारित भएमा सो उमेर हदको सो व्यवस्था तुरुन्तै लागू हुनेछ ।
त्यसै गरी, एउटा व्यक्तिले दुई कार्यकाल भन्दा बढी समयसम्म एउटै जिम्मेवारी लिन नपाउने व्यवस्था पनि गरिएको छ । जसअनुसार जिल्ला समिति, प्रदेश र राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार २ कार्यकाल वा १० वर्ष भन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन नपाउने व्यवस्था प्रस्तावित विधानमा उल्लेख गरिएको छ ।
जसपा नेपालले सानो तथा छरितो केन्द्रिय कार्यसमिति बनाउने प्रस्ताव गरेको छ । जसअनुसार अबदेखि राष्ट्रिय महाधिवेशनले १३ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरिएको छ ।
प्रस्तावित विधानअनुसार नयाँ केन्द्रिय कार्यसमितिमा १ जना अध्यक्ष, १ जना सह–अध्यक्ष ३ जना उपाध्यक्ष, महासचिव १ जना, उपमहासचिव ३ जना, सचिव ३ जना र कोषाध्यक्ष १ जना रहने गरी छरितो केन्द्रिय समिति बनाउने प्रस्ताव गरिएको छ । हाल जसपाको ४ सय ४० केन्द्रिय सदस्य रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij