
शनिवार , आषाढ ९, २०८०
काठमाडौं, ९ असार ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) को शनिबार (आज) केन्द्रीय समितिको बैठक बस्दैछ । भोलिदेखि सुरु हुने विधान अधिवेशनको अन्तिम तयारीका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोलिदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने विधान अधिवेशनमा प्रस्तुत हुने मस्यौदा विधानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो । बैठकले केन्द्रिय समितिवाट मस्यौदा विधान पारित गरेपछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ ।
भोलिको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरु सहभागी हुँदैछन् । यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल हुनेछ र पारित गर्ने प्रमुख अजेण्डा रहेको छ ।
विधान अधिवेशनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विधान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij