
बिहिवार , आषाढ ७, २०८०
भैरहवा, ७ असार ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको जिल्ला भेला बिहीबार भैरहवामा सम्पन्न भएको छ । भेलाले सियाराम यादवको अध्यक्षतामा ७१ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा नवल किशोर सिंह, कलामुद्दीन खाँ, सुशिला चौधरी र सचिवमा विष्णु अधिकारी रहेका छन् । त्यस्तै जिल्ला उपसचिवमा कमाल अख्तर फकिर, राम अवध गुप्ता, राजकुमार लोध र सुनिता खडुलक रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य महेन्द्र यादवले पार्टीमा नेतृत्वको भूमिका अझ महत्वपूर्ण रहने बताए । उनले २०७४ मा रुपन्देहीमा जसपा दोस्रो दलको रुपमा स्थापित भए जस्तै पार्टीलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।
जसपा लुम्बिनी प्रदेश सह–इञ्चार्ज नविन सुनुवारले २०८४ को निर्वाचनमा जसपालाई पहिलो पार्टी बनाउने गरी लाग्नुपर्ने बताए । उनले पार्टीमा इमान्दारिता आवश्यक रहेकोमा जोड दिए ।
पार्टीका युवा नेता तथा राजनीतिक समिति सदस्य मनिकर कार्कीले जसपा कसैको रहरले नभइ मुलुकको आवश्यकताले जन्मिएको पार्टी भएको दावी गरे । उनले जसपा रुपन्देहीको नयाँ नेतृत्व तथा टीमले पार्टीलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।
जसपाका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले विगतको निर्वाचनमा सोचेअनरुप परिणाम ल्याउन नसकिएको बताए । उनले जसपाले बोकेको एजेण्डामा मुलुक चलिरहेको दावी गरे ।
केन्द्रीय सदस्य सावित्रा विश्वकर्माले सबैले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिइन् । उनले जसपालाई बलियो बनाउन अघि बढ्नुपर्ने बताइन् ।
जसपा रुपन्देहीका निवर्तमान अध्यक्ष रामअवतार यादवले पार्टीलाई अझ बलियो बनाउने गरी एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले सबैको सल्लाह–सुझाव लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘म एउटा पात्र हुँ, सहयोग तथा सल्लाह र सुझाव बिना एक्लै अघि बढ्न सक्दिन । मलाई पार्टीमा अगाडि बढाउने नेताहरुलाई कहिल्यै बिर्सन सक्दिन ।’
जसपा रुपन्देहीका सचिव विष्णु अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij