
बिहिवार , आषाढ ७, २०८०
भैरहवा, ७ असार ।
रुपन्देहीको सिद्धार्थनगर क्षेत्रमा सञ्चालित अटो, टेम्पो, ई–रिक्सा तथा ठेला व्यवसायीले विभिन्न माग राखेर संघर्षका कार्यक्रम सञ्चालन गरिहेका छन् । पत्रकार भेटघाट, शान्तिपूर्ण जुलुस प्रदर्शन गरिसकेका उनीहरुले बुधबार भैरहवामा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम पनि गरेका छन् । सिद्धार्थनगर नगरपालिकाले विभिन्न पेसा–व्यवसाय गर्नेमाथि अन्याय गरेको भन्दै यहाँ क्रियाशील राजनीतिक दलहरु, संघ-संस्था र मजदुरहरु एकजुट भएका छन् । उनीहरुले नगरपालिकाविरुद्ध आवाज उठाउने र आफ्नो माग सम्बोधन गर्न पहल गर्ने भन्दै संघर्ष समिति समेत बनाएका छन् ।
सिद्धार्थनगर नगरपालिकाले नगरको सुन्दरीकरण गर्नका लागि भन्दै ई–रिक्सा, ठेला व्यवस्थापन गर्न खोज्दा आफ्नो अधिकार र व्यवसायमा धक्का लागेको भन्दै उनीहरु चरणबद्ध आन्दोलनमा आएका हुन् । उनीहरुले भाडादरको समस्या, बाटोरुटको समस्या, करमा समस्या, सडक दुर्घटनाका कुरा, नविकरणमा देखिएको समस्यालगायतका विषयमा समाधानको बाटो खोजेको बताएका छन् । व्यवस्थापनका नाममा व्यवसायी तथा मजदूरलाई विस्थापित गर्न नपाइने उनीहरुको भनाइ छ ।
नेपाल अटो टेम्पो तथा ई–रिक्सा चालक संघका अध्यक्ष लोक बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा राष्ट्रिय एकता अभियानका केन्द्रिय सदस्य राधेश्याम गुप्ता, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य तिर बहादुर रोका मगर (डार्बिन), नेकपा (एमाले) का नेता राम दयाल गुप्ता, राष्ट्रिय स्वतन्त्र पार्टी सिद्धार्थनगरका संयोजक सुमन न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका प्रेम बहादुर गुरुङ, नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य बिमला वि.क. राष्ट्रिय जनमोर्चाका सागिर आलम लगायतले बोल्दै आन्दोलनमा एक्यबद्धता जनाएका थिए । उनीहरुले सरोकारवाला निकायले मागहरुप्रति वेवास्ता गरेकोले दबाब आवश्यक रहेको बताए ।
संघर्ष समितिका सचिव करण रसाइलीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
संघर्ष समितिले पत्रकार सम्मेलन गर्ने, नगर व्यवस्थापनका विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने, प्लेकार्ड बोकेर शान्तिपूर्ण जुलुससहित कोण सभा गर्ने, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, सिटी जुलुस, ८ घण्टा नगरपालिकामा धर्ना दिने र अन्तिममा आमसभा गर्ने घोषणा गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij