२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

भारतीय सीमावर्ती बजारबाट अखाद्य मासु भित्रिएको आशंकामा बुटवलमा अनुगमन

बुधवार , जेठ २४, २०८०

बुटवल, २४ जेठ । 
भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मासु पसलहरु र सप्लायर्सहरुमा अनुगमन थालेको छ ।

बुटवल उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थहरु भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलहरुमा अनुगमन थालेको हो ।

जेठ १४ गतेदेखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गरी १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट अखाद्य ससेज जफत गरी नष्ट गरेको छ ।

बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च बुटवल, मासु व्यवसायी संघ, सञ्चारकर्मीसहितको अनुगमन टोलीले अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरेको बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सावित्रादेवी अर्यालले बताइन् । अनगुमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहोर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसलहरु एकैठाउमा राखेका, व्यवसाय दर्ता नगरेकाजस्ता मासु पसल तथा सप्लायर्सहरुलाई चेतावनी दिदै सुधार गर्न निर्देशन दिइएको उनले बताइन् ।उनले मासुको गुणस्तर र मापदण्ड पूरा नगरेकाहरुलाई कानूनी दायरामा ल्याउने र निरन्तर अनुगमन गरी व्यवस्थित बनाउने बताइन् ।

अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, अखाद्य मासु विक्रीका लागि राखेका पसलहरुबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाई शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए ।

मानिसले विश्वास गरेर खरिद गर्ने मासु स्वस्थ र स्वच्छ हुनुपर्ने, पशुपंक्षी बध गर्दा र मासु विक्री गर्दा मापदण्ड पूरा गर्नुपर्ने पशुपंक्षी विकास शाखा प्रमुख झविन्द्र बञ्जाडेले बताए ।