
बुधवार , जेठ २४, २०८०
भैरहवा, २४ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले मासु पसलहरुमा अनुगमन गरेको छ । नगरपालिकाको अनुगमन समितिले नगर क्षेत्रमा रहेको खसी, कुखुरा, रांगा र बंगुरको मासु पसलहरु अनुगमन गरेको हो ।
अनुगमनको क्रममा पसलहरु मुख्यतः मूल्यसूची, सरसफाई, व्यवसाय दर्ता/नविकरण, मासुको गुणस्तरता पनि सन्तोषजनक नभएको पाइएको सिद्धार्थनगर नगरपालिका उपप्रमुख एवं अनुगमन समिति संयोजक उमा अधिकारीले बताइन् । ‘हामीले नगरमा १० वटा मासु पसलहरुमा अनुगमन गरेका छौं‘ संयोजक अधिकारीले भनिन्, ‘अनुगमन क्रममा खानयोग्य नै नरहेको साढे ३१ किलो कुखुराको मासु जफत गरी नष्ट गरिएको छ भने अनुमति नलिइ प्रयोग गरिएको डिजिटल तराजु नियन्त्रणमा लिएका छौं ।’
अनुगमनको क्रममा केही पसलमा सन्तोजनक पाइएको बताउँदै उनले मापदण्डविपरीत सञ्चालन भएको पसलका सञ्चालकहरुलाई मापदण्डअनुसार व्यवसाय सञ्चालन गराउन सचेत गराइएको बताइन् ।
‘अहिले केही व्यवसायीलाई सचेत गराएका छौं’ उनले भनिन्, ‘पुनः अनुगमनको क्रममा मापदण्डअनुसार नपाइए नियमानुसार कारवाही गर्छौँ ।’
नगरपालिका कार्यालयको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय रुपन्देही, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नेपाल प्रहरी, सिद्धार्थ उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) रुपन्देही लगायतको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij