बुधवार , जेठ २४, २०८०
काठमाडौं, २४ जेठ ।
राष्ट्रपति रामचन्द्र पौडेलले हालै प्रमाणीकरण गरेको नागरिकता विधेयक नेपालको संविधान प्रतिकूल भएको सर्वोच्च अदालत, बार एसोसिएसनले जनाएको छ । सर्वोच्च अदालत, बारका अनुसार राष्ट्रपति पौडेलको उक्त कदम संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको जनाउँदै अदालतले थप निरुपण गर्ने उल्लेख गरेको छ ।
‘संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल सम्माननीय राष्ट्रपतिबाट उक्त नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण भएको यस बार एसोसिएसनको ठम्याइ छ,’ सचिव श्यामकुमार खत्रीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतमा यही विषयवस्तु हाल विचाराधीन रहेको हुँदा कानूनबमोजिम व्याख्या हुने नै छ ।’ सर्वोच्च बारको हिजो साँझ बसेको आकस्मिक बैठकपछि सो निर्णय सार्वजनिक भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा निस्कनुअघि राष्ट्रपति पौडेलले अघिल्लो संसदमा बहुमतले पारित भएर विद्यादेवी भण्डारीको कार्याकालमा राष्ट्रपति कार्यालय पुगेको विधेयकलाई ८ महिनापछि प्रमामीकरण गरेका थिए । सामान्यतयाः संघीय संसदका सभामुखले पठाएको विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्ने नियम भए पनि मन्त्रीपरिषदको सिफारिसमा पठाइएको विधेयकलाई राष्ट्रपति पौडेलले प्रमाणीकरण गरे पछि विवाद भएको थियो ।
सो पछि सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले सो विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालिन आदेश दिइसकेको छ ।

© 2025 All right reserved to khabarpatro.com | Site By : sobij