२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

घरबहालसम्बन्धी समस्या समाधान गर्न राज्य गम्भिर हुनुपर्ने माग

सोमवार , जेठ २२, २०८०

बुटवल, २२ जेठ । 
घरबहालसम्बन्धी समस्या समाधान गर्न राज्य पक्ष उदासिन हुँदा स्थिति गम्भिर बन्दै गइरहेको बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । विगत लामो समयदेखि घरबहालका क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि उचित कानूनको अभावमा व्यवसायीहरु विस्थापित बन्दै गइरहेको भन्दै सहभागीहरुले राजनीतिक दल र नेताहरु समस्या समाधानका लागि गम्भिर नबनेको आरोप लगाएका छन् । 

लामो समयसम्म सडकको अवस्था खराब हुनु, बुटवलबाट प्रदेशको राजधानी दाङ सर्नु र घरबहाल महंगो हुनु लगायतका कारणले व्यवसायीहरु क्रमशः विस्थापित हुँदै गइरहेको भन्दै उनीहहरुले प्रमुख राजनीतिक दलहरुलाई समस्या समाधानका लागि जिम्मेवार बन्न आग्रह समेत गरेका छन् । 

नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले स्थानीय सरकारले बुटवलको आर्थिक गतिविधि बढाउने खालका योजनाहरु बनाउनुपर्नेमा जोड दिएका छन् । 

घरबहाल क्षेत्रका समस्या र समाधानका उपायहरु विषयक सो अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस बुटवल उपमहानगरका उपसभापति ज्योती भण्डारीले बुटवलको विकासको बारेमा दीर्घकालिन सोच नहुँदा व्यापार व्यवसाय धरासायी बन्दै गइरहेको टिप्पणी गरेका छन् । नेकपा एमाले बुटवल उपमहनगर समितिका सह–सचिव मेघराज घिमिरेले तीव्र शहरीकरणसँगै बुटवलको बजार विकेन्द्रित भइ विभिन्न क्षेत्रमा फैलिएर ग्रामीण तथा साना शहरी क्षेत्रमा बजार स्थापित भएका कारण अवस्था दयनीय बन्दै गइरहेको बताए ।

नेकपा (माओवादी केन्द्र) का नगर अध्यक्ष महेन्द्र भुसालले दिर्घकालीन असर गर्ने कुराहरुमा राज्यले ध्यान नदिदा समस्या बिकराल बन्दै गइरहेको भन्दै घरबहाल कर छुट, बैंक ब्याज मिनाहा लगायतका कार्यक्रममार्फत व्यापार व्यवसायको संरक्षण गर्ने नीति ल्याउन आग्रह गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नगर अध्यक्ष निरज प्रताप खाणले समस्या समाधानका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

नेपाल मजदूर किसान पार्टी (नेमकिपा) रुपन्देहीका अध्यक्ष हरिसुन्दर बासीले घरबहालको क्षेत्रमा समस्या आएको जिकिर गरेका छन । 

क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका नगर अध्यक्ष राजु भुजेल, नेकपा (विप्लव समुह) नगर इञ्चार्ज एन.बी. शाहीलगायतले व्यवसायी मात्र नभएर हजारौं मजदूरसँग पनि जोडिएको विषय भएकोले राजनीतिक रुपमै चासो लिएर समाधानको उपाय खोज्नुपर्ने धारणा राखेका थिए ।  

कार्यक्रममा नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीका संस्थापक अध्यक्ष लेखनाथ भण्डारी, वर्तमान अध्यक्ष राजुप्रसाद लिगल, वरिष्ठ उपाध्यक्ष टुकलाल न्यौपाने, महासचिव कृष्ण बहादुर खनाल, निवर्तमान अध्यक्ष खगेन्द्र पौडेल, सदस्य शुभप्रताप राणा, वरिष्ठ सल्लाहकार हरिश ढकाललगायतले बुटवलको बजारबाट उद्यमी व्यवसायीहरु क्रमशः विस्थापित हुँदै गइरहेकोमा चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि आवश्यक पहल गर्न राजनैतिक दल तथा नेताहरुलाई आग्रह गरेका थिए ।