२०८२, श्रावण १० गते

Jul 26 2025 | २०८२, श्रावण १० गते

स्थानीय तहलाई जगाउनुपर्ने बेला आएको छ : अभियानकर्ता रवि ठाकुर

शुक्रवार , जेठ १९, २०८०

लुम्बिनी, १९ जेठ ।
पछाडि पारिएका समुदायको अधिकार रक्षाका लागि सबै मिलेर लाग्नुपर्ने सामाजिक अभियानकर्ता रवि ठाकुरले बताएका छन् । उनले लैंगिक समानता तथा सामाजिक समावेशी नीति समेत बन्न नसकेको अवस्था र मानवअधिकार समिति  गठन नभएको स्थानीय तहलाई दबाब दिन आग्रह गरेका हुन् ।

दाङको लमहीमा आयोजित दलित तथा आदिवासी जनजाति गैरसरकारी संस्थाहरुको क्षमता अभिवृद्धिसम्बन्धि तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं अल्पसंख्यक अधिकार मंचका केन्द्रीय अध्यक्ष, सामाजिक अभियन्ता ठाकुरले भने, ‘स्थानीय तहहरुलाई तपाईहरुले जगाउनुपर्ने बेला आएको छ ।’ उनले जनसंख्याको अनुपातमा बजेट बिनियोजन गर्न दबाब दिन आग्रह गरे ।

कार्यक्रममा सामाजिक अभियन्ता तथा दलित अधिकार मंचका निर्मल नेपालीले संविधान कार्यान्वयन, जातीय भेदभाव तथा छुवाछुतविरुद्धको अभियानमा लाग्न आग्रह गरे । उनले तालिममा अधिकतम दाङकै स्थानीय स्रोत र साधन प्रयोग गरिएको भन्दै आयोजकलाई धन्यवाद ब्यक्त गरे । 

प्रादेशिक दलित तथा आदिवासी जनजाती गैरसरकारी संस्थाहरुको क्षमता अभिवृद्धिका लागि दुईदिने तालिमको समापन कार्यक्रममा बोल्दै लिडरसीप एकेडेमिक नेपाल (लान) का सिनियर प्रोग्राम म्यानेजर प्रभाकर प्रधानले दलित तथा आदिवासी जनजातिको पहिचान र अधिकारका क्षेत्रमा लुम्बिनी प्रदेशमा कार्यरत संघ–संस्थाहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका सिनियर प्रोग्राम म्यानेजर प्रधानले दुईदिने तालिमका क्रममा सहभागीहरुमा प्रोजेक्ट प्लानिंग, इम्प्लीमेन्टेशन, फाइनेन्सियल मैनेजमेन्ट, नेतृत्व विकास र वकालत क्षमतामा वृद्धि हुने विश्वास व्यक्त गरे । सो तालिममा लुम्बिनी प्रदेशमा प्रतिनिधित्व गर्ने १८ वटा संघ–संस्थाका २७ जनाको सहभागीता रहेको थियो ।