२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

मोदीलाई प्रचण्डको जवाफ- सीमा विवाद कायम राखेर सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन

शुक्रवार , जेठ १९, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • नयाँ दिल्ली, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने औपचारिक भ्रमणका लागि भारतमा रहेका छन् ।

    बुधबार नयाँ दिल्ली आइपुगेका उनी राजनीतिक उच्चस्तरीय भेटवार्तासँगै तीर्थाटनमा व्यस्त छन् । बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान नयाँ दिल्लीमा नेपाली पत्रकारहरूसँगको  कुराकानी गरेका छन् । सो क्रममा आफूले भारतीय समकक्षी मोदीलाई सीमा विवाद थाती राखेर दुई देशबीच सम्बन्धमा ब्रेक थ्रु हुन नसक्ने बताएको जानकारी दिए । 

    बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने बताएका थिए । उनले भनेका थिए, ‘हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ । यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ ।’ 

    आफूसँगको भेटवार्तामा पनि मोदीले सीमा विवाद समाधान गर्ने बताएका प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।  ‘मैले मोदीजीलाई सीमा विवाद कायम राखेर दुई देशबीचको सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन भनेँ,’ नेपाली पत्रकारसँग कुरा गर्दै मोदीसँगको भेटमा भएको कुराकानी उद्धृत गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मोदीजीले पनि नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास राख्नु भएको छ । उहाँले सीमा विवाद हल गर्ने विषय महत्वपूर्ण भएको र यसको समाधान गर्नुपर्छ भन्नु भएको छ ।’