
शुक्रवार , जेठ १९, २०८०
भैरहवा, १९ जेठ ।
विद्यालयको शैक्षिक गुणस्तर बढाउन सम्बन्धित सबै पक्षको भूमिका महत्वपूर्ण हुने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । बिहीवार पन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ स्थित भानु माध्यमिक विद्यालयमा आयोजित शिक्षासम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले कुनै एक पक्षको एक्लो प्रयासले शैक्षिक गुणस्तरमा सुधार ल्याउन नसकिने बताउँदै यसका लागि शिक्षक, अभिभावक, विद्यार्थीलगायत सम्बन्धित सबै पक्षकोे उत्तिकै महत्व रहेको बताए । उनले कार्यक्रममा शैक्षिक गुणस्तर वृद्धि गराउन तथा उत्कृष्ट बिद्यालय बनाउन शिक्षक, बिद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा सरोकारवालाको के कस्तो भूमिका रहन्छ र त्यसको प्रयोग के कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएका थिए ।
यस्तै विद्यालयका प्रधानाध्यापक मोतीलाल सुवेदीले विद्यालयको विगत, वर्तमान र आगामी कार्यक्रमहरुका वारेमा जानकारी गराउँदै योजनाबद्ध रुपमै अगाडी बढेको बताए । उनले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार गर्न आफू सधै तत्पर रहेको स्पष्ट पारे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार, अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघबाट सहभागीहरुले प्रतिनिधिमूलक रुपमा राखेको जिज्ञासाहरुलाई इकाइ प्रमुख दिपेन्द्र ढकाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खान र प्रधानाध्यापक मोतीलाल सुवेदीले स्पष्ट परेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फैज अहमद खानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले राम्रो विद्यालय बनाउन आ–आफ्नो तर्फबाट सकारात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij