२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

संगठन विस्तारमा रास्वपा, सिद्धार्थनगर–९ मा वडा समिति गठन

शनिवार , जेठ १३, २०८०

भैरहवा, १३ जेठ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन विस्तार अभियानमा लागेको छ । पार्टीले पालिका र वडामा संगठन विस्तार अभियानलाई तीव्रता दिएको रास्वपा रुपन्देहीका सभापति प्रकाश ज्ञवालीले बताए । 

सोही क्रममा शुक्रबार रास्वपा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को वडा भेला, संगठन विस्तार, पार्टी सदस्यता वितरणसहित धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । भेलाले ओमराज पन्तको संयोजकत्वमा ११ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको सदस्यहरुमा नर बहादुर थापा, रमेश भुसाल, टीकाराम अधिकारी, करुणा सिंह, सुरज भण्डारी, विमल अधिकारी, कमला मरासिनी, कल्पना पाण्डे, पवित्रा खनाल र सर्मिला भण्डारी सुवेदी रहनुभएको रास्वपा सिद्धार्थनगर नगरपालिकाका सभापति सुमन न्यौपानेले बताए ।

कार्यक्रममा बोल्दै रास्वपा लुम्बिनाी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेले मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको बताए । उनले बेथिति, विसंगति र भ्रष्टाचारविरुद्ध रास्वपा गठन भएको बताए । उनले भने, ‘सिद्धार्थनगर नगरपालिका वडा नम्बर ९ को भेलामा भएको उपस्थितिले निकै खुसी भएको छु । मुलुकका समस्या समाधानका लागि प्रत्येक वडामा पार्टीको संगठनलाई मजबुत बनाउनुपर्छ ।’

पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा रुपन्देही जिल्ला सभापति प्रकाश ज्ञवालीले रास्वपा अभियान बोकेको पार्टी भएको बताए । उनले भने, रास्वपा भ्रष्टाचारविरुद्ध जन्मिएको पार्टी हो । अन्यायविरुद्ध लड्ने पार्टी हो । उनले मुलुकको विकासका लागि इमान्दारिता र लगनशीलता आवश्यक रहेकोमा जोड दिए ।

रास्वपा लुम्बिनी प्रदेश सदस्य जीत बहादुर गुप्ता (शेखर)ले कस्तो नेतृत्व छान्ने, कसलाई मत दिने जनताको अधिकार भएको बताए । उनले देशको सेवा गर्न पनि नीति, सिद्वान्त चाहियो भन्दै प्रश्न गरे । नेता गुप्ताले राजनीतिमा इमान्दारिता आवश्यक रहेको धारणा राखे । उनले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देशका लागि सोच्ने बेला आएको बताए । 

पार्टीका लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख महेन्द्र उपाध्यायले रवि लामिछानेलाई षडयन्त्र गरी पदबाट हटाइए पनि चितवनका जनताले उहाँलाई फेरी मौका दिएको बताए । उनले भ्रष्टाचारविरुद्ध माओवादीले नभइ रास्वपाले आवाज उठाएको बताए । उनले २०८४ को निर्वाचनमा रास्वपाले दुईतिहाई बहुमत ल्याउने गरी संगठन विस्तार गरी पार्टीलाई मजबुत बनाउन आग्रह गरे । 

पार्टीका लुम्बिनी प्रदेश र्‍याट विभागका उपसभापति शंकर भण्डारीले वडा भेलामा उत्साहजनक उपस्थितिले खुशी बनाएको बताए । उनले आगामी दिनमा रास्वपाले दुईतिहाई बहुमतका साथ निर्वाचन जित्ने दावी गरे । 

रास्वपा बुटवल उपमहानगरपालिका सभापति राजन पाण्डेले रास्वपाले मुलुकमा सिष्टम बसाल्न खोजेको बताए । उनले भ्रष्टाचार नभए मुलुकमा विकास निर्माण कार्य द्रुत गतिमा अघि बढ्ने बताए ।

रास्वपा सिद्धार्थनगर सभापति सुमन न्यौपानेले पार्टीले भाषण भन्दा काममा विश्वास राख्ने बताए । उनले रास्वपा राष्ट्रको नेतृत्व गर्न सक्षम रहेको बताए । उनले भने, ‘रास्वपाले धोका दिदैन । हामीलाई काम नगर्ने छुट छैन ।’ 
पार्टीका सिद्धार्थनगर नगर समिति सदस्य ओम पौडेल, मधु प्रसाद अर्याल, लक्ष्मी अधिकारीलगायतले बोल्दै पार्टी विकृति–विसंगतिविरुद्ध अगाडि बढिरहेको बताए ।

रास्वपा सिद्धार्थनगरका सभापति सुमन न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेश उपाध्यक्ष शालिकराम घिमिरेको प्रमुख आतिथ्यता तथा सिद्धार्थनगर समिति सदस्य लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।