सोमवार , पौष २७, २०७७
भैरहवा, २७ पुस ।
जातीय छुवाछुत तथा बालविवाह रोकथामको लागि लुम्बिनी प्रदेश प्रहरीले तीनमहिने अभियान–२०७७ सञ्चालन गरेको छ । समाजमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पुर्याइ जातीय विभेद तथा बालविवाहमुक्त समान सिर्जना गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङ प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजकुमार बैदवारले बताए ।
प्रवक्ता वैदवारका अनुसार अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया, छलफल, पर्चा÷पम्पलेट र कानुनी प्रावधानबारे जानकारी तथा विद्यालयस्तरमा प्रशिक्षण प्रदान गरिनेछ ।
‘यो अभियान पुस २६ बाट सुरु भइ चैत १२ गतेसम्म लुम्बिनी प्रदेशका १२ जिल्ला र इलाका प्रहरी प्रहरी कार्यालय ५३ गरी ६५ प्रहरी कार्यालयबाट सञ्चालन गरिनेछ, अभियान अवधिभर कम्तीमा ३९० वटा कार्यक्रमहरु सञ्चालन हुनेछ, जातीय छुवाछुत तथा विभेदको अन्त्य गर्नुका साथै समाजमा हुने बालविवाह न्यूनीकरण गर्न र यस्ता विभेदका विषयमा शुन्य सहनसिलता कायम गर्न अभियान सञ्चालन गरिएको हो ’एसएसपी बैदवारले भने ।
यो अभियानलाई उपलब्धीमुलक बनाउन सबैलाई आ–आफ्नो तर्फबाट सक्रिय सहभागि हुन र यस्तो अपराध भएमा वा भइरहेको जानकारी पाएमा प्रहरीलाई सूचना दिन समेत लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij