शुक्रवार , जेठ १२, २०८०
बुटवल, १२ जेठ ।
बुटवलको लुम्बिनी केबलकारको टप स्टेसन रहेको पाल्पाको बसन्तपुर डांडामा बनेको कामाख्या देवीको मन्दिरमा सप्ताहव्यापी पुजाआराधना सुरु भएको छ । व्यवसायिक घराना आईएमई ग्रुपको नेतृत्वमा बनेको लुम्बिनी केबलकार यही जेठ १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालन हुँदैछ ।
केबलकार सञ्चालन हुनुपूर्व मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु भएको हो ।
भारतको गुहावटीमा रहको मन्दिरकै शैली र कलामा बसन्तपुरमा कामाख्या मन्दिर बनेको छ ।
कामाख्या मन्दिरको दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए । सप्ताहव्यापी पुजाआराधनामा बुटवलसहित रुपन्देही, पाल्पा र छिमेकी जिल्लाबाट भक्तजनहरु आउने गौतमले बताए ।
सप्ताहव्यापी पुजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितहरुले धार्मिक प्रवचन दिंदैछन् ।
कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपिपल, ढुंगे धारा, पोखरी आदि संरचनाहरु निर्माणले बसन्तपुर एउटा धार्मिक गन्तव्य बनेको लुम्बिनी केबलकारका इञ्जिनियर सन्नी चौरसियाले बताए । सप्ताहव्यापी पुजाआराधनाकै बीचमा जेठ १५ गतेदेखि केबलकारको व्यवसायिक सञ्चालन हुने इन्जिनियर चौरसियाले बताए ।
केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता गरी लुम्बिनी केबलकार प्रा.लि.ले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम सेवा शुल्क वापत छुट्टाउनेछ । उक्त रकम दुई पालिकाले ५०–५० प्रतिशत पाउने छन् ।
बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म २ किलोमिटर ६ सय मिटर दुरीको लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो ।
आईएमई ग्रुपले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि काठमाडौंको चन्द्रागिरीमा र हालै नवलपुरको गैंडाकोट नजिक मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।
लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको प्रा.लि.का अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । भारतको गोरखपुर, लखनउ लगायतका शहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको बताए ।
केबलकार आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा) रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्नेछ । बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन ९ सय ४० मिटरको उचाईमा रहेको छ । बटन स्टेशनबाट १० मिनेटको यात्रामै टप स्टेशनमा पुग्न सकिन्छ ।
खासगरी गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकार सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए । केबलकार सञ्चालनमा आएसँगै टप स्टेशनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटेललगायत संरचना निर्माण हुने केबलकारका आयोजना प्रमुख गोपाल साउदले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij