
सोमवार , जेठ १, २०८०
बुटवल, १ जेठ ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताललाई विशेषज्ञ अस्पतालको रुपमा विकास गरी सेवा विस्तार गर्नुपर्ने विज्ञहरुको सुझाव प्रस्तुत गरेका छन् । सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह तथा विकासको सन्दर्भमा सोमबार आयोजित छलफल कार्यक्रममा सहभागीहरुले विभिन्न क्षेत्रका सुधारका लागि सुझाव प्रस्तुत गरेका हुन् ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधि, अस्पतालका पूर्वअध्यक्ष, मेडिकल सुपरीटेण्डेण्टहरु तथा संघ–संस्थाका प्रतिनिधिहरुबीच सेवा सुदृढीकरणका लागि छलफल गरिएको थियो ।
छलफल कार्यक्रममा अस्पतालमा बीमा सेवालाई प्रभावकारी बनाउन कर्मचारी थप गरी स्रोतसाधन व्यवस्थापन गर्नुपर्ने, अस्पतालका नियमित आम्दानी वृद्धिका लागि कार्योजना बनाई अघि बढ्नुपर्ने, अस्पताललाई राजनीतिक दबाब र प्रभावबाट टाढा राख्नुपर्ने, सूचना कक्षलाई प्रभावकारी व्यवस्थापन गर्नुपर्नेलगायतका सुझावहरु प्रस्तुत गरिएको थियो ।
त्यसै गरी ओपिडी सेवालाई जनरल र विशेषज्ञ ओपिडी गरी सञ्चालन गर्नुपर्ने, जनशक्ति व्यवस्थापन, अपरेशन संख्यामा वृद्धि तथा अस्पतालमा क्यान्सरसम्बन्धि उपचार सेवा सुरु गर्नुपर्ने सुझाव संकलन भएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. सुदर्शन थापाले बताए ।
छलफल कार्यक्रममा बोल्दै अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले सबै पक्षको सुझाव संकलनपछि सेवा सुदृढीकरण, विशेषज्ञ सेवा लगायतका योजनालाई अघि बढाउने उल्लेख गरे ।
छलफल कार्यक्रममा नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, नेकपा (माओवादी केन्द्र) रुपन्देहीका अध्यक्ष निर्मल जि.सी, राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव टान बहादुर के.सी, नेकपा (एकीकृत समाजवादी) बुटवल नगर अध्यक्ष चिनबहादर गुरुङ, अस्पताल विकास समितिका सदस्य लक्ष्मी खनाल, पूर्वअध्यक्षहरु बाबुराम भट्टराई, पुनाराम पोखरेल, सुर्य बहादुर भट्टराई लगायतले सुझाव प्रस्तुत गरेका थिए ।
अस्पतालका पूर्व मेसुहरु डा. कृष्ण प्रसाद खनाल, डा. मनोहर जोशी, गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष तेजकुमार पाठक, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपाने, स्वयंसेवी रक्तदाता समूहका अध्यक्ष कृष्ण चौहान, तिलोत्तमा अस्पतालका अध्यक्ष रामप्रसाद खरेललगायतले बोल्दै अस्पतालको स्वास्थ्य सेवालाई थप सहज र व्यवस्थित गराउन सुझाव दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij