शनिवार , बैशाख ३०, २०८०
बुटवल, ३० वैशाख ।
सडक प्रयोगकर्ता सबैले सडक अनुशासन पूर्ण रुपमा पालना गरेमा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास सरोकारवाला निकायका प्रतिनिधिहरुले गरेका छन् । पश्चिम नेपाल बस व्यवसायी प्रालिले आयोजना गरेको सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरणका लागि चालक प्रशिक्षण कार्यक्रममा मानवीय कारणबाट नै सर्वाधिक सवारी दुर्घटना भइ धनजनको क्षति भएको कुरामा जोड दिँदै सडक प्रयोगकर्ताहरु सबैले सडक अनुशासन पालना गरेमा दुर्घटना न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।
जीर्ण सडक, थोत्रा गाडी र सिकारु चालकका कारण पनि सडकमा सवारी दुर्घटना हुने गरेको उल्लेख गर्दै सरोकारवाला निकायका प्रतिनिधिहरुले सवारी चालक र यातायात मजदूरहरु शारीरिक र मानसिक रुपमा स्वस्थ हुनुपर्नेमा जोड दिएका छन् । चालकको लापरवाही, सडकको दुरावस्था, यान्त्रिक गडबढी र पैदलयात्रुको लापरवाहीलगायत सवारी दुर्घटनाका प्रमुख कारणहरु रहेको सम्बन्धित क्षेत्रका विज्ञहरुले बताएका छन् । तीव्र गतिमा सवारी चलाउने, सडकमा उछिनपाछिन गर्ने अस्वस्थ प्रतिष्पर्धा, ओभरटेक र ओभरलोड तथा दैवी प्रकोपका कारण पनि अधिक सवारी दुर्घटना भइ बर्षेनी करोडौं बराबरको धनजनको क्षति हुने गरेको सरोकारवाला बताउँछन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाई कृष्ण प्रसाईले सरोकारवाला निकाय र सडक प्रयोगकर्ताहरु सबै जिम्मेवार भएमा सवारी दुर्घटना न्यूाीकरण अभियान सफल हुने बताए । सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरी मात्र जिम्मेवार नभइ नागरिक सचेत भएर लाग्नुपर्ने कुरामा जोड दिदैं उपरीक्षक प्रसाईले यातायात व्यवसायी, मजदूर र यात्रुहरु सबै उत्तिकै जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
वरिष्ठ प्रहरी सहायक निरीक्षक एवं कार्यक्रमका प्रशिक्षक ज्ञानु पाण्डेले सवारी दुर्घटना न्यूनीकरणमा सवारी चालकहरुको भूमिका अत्यन्तै महत्वपूर्ण हुनेमा जोड दिदै चालक, सह–चालक लगायतका यातायात मजदूरहरु पूर्ण रुपमा सचेत र जिम्मेवार भएमा दुर्घटना न्यूनीकरण हुने बताए । उनले मादक पदार्थ सेवन गरेर गाडी चलाउने, गाडीको यान्त्रिक अवस्थाबारे जानकारी नराख्ने, सवारी र चालकको कागजपत्र दुरुस्त नराख्ने लगायतका कमीकमजोरी हटाएर जिम्मेवार बन्न समेत आग्रह गरेका छन् ।
त्यसै गरी पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक एवं सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण कार्यक्रमका संयोजक नारायण घिमिरेले कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै यातायात क्षेत्रका समस्या, सवारी व्यवस्थापन, अनुगमन र दुर्घटना न्यूनीकरणका उपायहरुबारे चर्चा गरेका थिए ।
प्रालिका सञ्चालक तथा दुर्घटना न्यूनीकरण कार्यक्रमका सचिव जितेन्द्र खत्रीको सञ्चालनमा भएको कार्यक्रममा लेखा सञ्चालक मोहन पिएस, नेपाल यातायात स्वतन्त्र मजदूर संघका केन्द्रिय सदस्य कृष्ण कंडेल, नेपाल यातायात मजदुर संघ रुपन्देहीका अध्यक्ष नरबहादुर रजाली, अखिल नेपाल मजदूर संगठन रुपन्देहीका अध्यक्ष कुम बहादुर नेपाली, पत्रकार हरिश ढकाललगायतले दुर्घटना न्यूनीकरणका उपाय र चालकहरुको भूमिकाबारे चर्चा गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij