
शनिवार , बैशाख ३०, २०८०
बुटवल, ३० वैशाख ।
वि.सं. २०७२ सालमा स्थापित चलचित्र पत्रकार संघ, रुपन्देहीले चलचित्र पत्रकारिता दिवस भव्य मनाउने भएको छ । हरेक वर्ष जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको संघले सो अवसरमा यस वर्ष जेठ ६ गते विविध कार्यक्रम गरी मनाउने संघका अध्यक्ष मोहन न्यौपानेले बताए । सो दिन संघद्वारा स्थापित ‘एनबी चलचित्र पत्रकारिता पुरस्कार–२०७९ र नवोदित चलचित्र पत्रकारिता पुरस्कार–२०७९’ वितरणसमेत गरिने अध्यक्ष न्यौपानेले बताए । सो पुरस्कारका लागि चलचित्र पत्रकार संघ रुपन्देहीले तीन सदस्यीय पुरस्कार मूल्यांकन समिति गठन गरेको छ । अध्यक्ष मोहन न्यौपानेको संयोजकत्वमा निवर्तमान अध्यक्ष सुमन श्रेष्ठ र नेपाल पत्रकार महासंघका अध्यक्ष तथा संघका पदेन सल्लाहकार रामराज पोखरेलसहितको मूल्यांकन समितिले २०७९ को २ वटा पुरस्कार वितरण गर्नको लागि आवेदन माग समेत गरेको छ ।
२०७९ सालमा प्रकाशन तथा प्रशारण भएका चलचित्र, कला मनोरञ्जन क्षेत्रको बारेमा (समाचार, रिपोर्ट, फिचर (अडियो/भिडियो/छापा र अनलाईन) कम्तिमा ५ वटा समाचार सामग्रीसहित चलचित्र पत्रकार संघ रुपन्देहीको ईमेलमा २०८० जेठ ४ गतेसम्म पेश गर्न रुपन्देहीका सबै पत्रकारहरुमा संघले आग्रह समेत गरेको छ ।
रुपन्देहीमा रही पत्रकारिता गर्ने सबै चलचित्र पत्रकार, नेपाल पत्रकार महासंघ तथा मिडियामा आबद्ध सम्पूर्ण पत्रकार तथा सञ्चारकर्मीहरुले आवेदन दिन मिल्ने सो पुरस्कार लिनको लागि निवेदन दिने व्यक्तिले पत्रकारिता गरेको पाँचवर्ष पुगेको हुनुपर्नेछ भने नवोदितका लागि कम्तिमा २ वर्ष पुगेको हुनुपर्ने संघले जनाएको छ । पुरस्कारका लागि चलचित्र, कला, मनोरञ्जन, गीतसंगीतलगायतका विधामा पत्रकारिता गर्नेले आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij