
शुक्रवार , बैशाख २९, २०८०
भैरहवा, २९ वैशाख ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) भैरहवा बहुमुखी क्याम्पस सिद्धार्थनगर–१२, रुपन्देहीले शुक्रबार सरसफाई कार्यक्रम गरेको छ । स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यहरुले सपथग्रहण गरिसकेपछि पहिलो कार्यक्रमअन्तर्गत क्याम्पस परिसरमा सरसफाई गरिएको स्ववियु भैरहवा बहुमुखी क्याम्पसका अध्यक्ष सागर न्यौपानेले बताए ।
छात्रवास र त्यहाँ रहेका शौचालय एवं स्नानघरहरु जीर्ण रहेको भन्नेबारेमा स्ववियु निर्वाचनअघि पटकपटक क्याम्पस प्रशासनलाई अवगत गराए पनि ध्यान नदिएपछि स्ववियुले सरसफाई कार्यक्रम राखेको न्यौपानेले जानकारी दिए ।
उनले आगामी दिनमा पनि सरसफाई कार्यक्रमलाई निरन्तरता दिइने बताए । ‘क्याम्पस शिक्षा आर्जन गर्ने स्थान हो, त्यसैले शिक्षा प्राप्त गर्ने पवित्र स्थल सफा, स्वच्छ र हराभरा हुनुपर्छ । यही कुरालाई आत्मसात गर्दै क्याम्पस परिसर तथा यहाँ रहेका शौचालयहरु सरसफाई गरिएको हो, ’न्यौपानेले भने ।
सरसफाई कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागीताले अझ हौसला प्रदान भएको स्ववियु सदस्य राजन गुप्ताले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij