
बुधवार , बैशाख २७, २०८०
बुटवल, २७ वैशाख ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको आयोजनामा प्यूठानको स्वर्गद्वारीमा तीनदिवसीय प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम हुने भएको छ । प्रदेशका १२ जिल्लाबाट झण्डै १ सय जना अगुवा कार्यकर्ताहरुको सहभागीता रहने सो प्रशिक्षण कार्यक्रमको पार्टीका केन्द्रिय उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले उद्घाटन गर्नेछन् ।
आगामी वैशाख २९, ३० र ३१ गते सञ्चालन हुने उक्त प्रशिक्षण कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले बुधबार रिपोर्टर्स क्लब नेपाल लम्बिनी प्रदेश कार्यालय बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति तथा प्रशिक्षण विभाग प्रमुख भुवन प्रसाद श्रेष्ठले काँग्रेसलाई थप बलियो बनाउन र कार्यकर्तामा उत्साह थप्न प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यकर्ता पंक्तिमा आएको नैराश्यता र नेताहरुमा देखिएको बिचलन र अनुशासनहीता न्यूनीकरण गर्ने यो कार्यक्रमको मूल लक्ष्य भएको उल्लेख गर्दै उपसभापति श्रेष्ठले जनताले आशा र भरोसा गरेको पार्टी काँग्रेस भएकोले पार्टी सच्चिएर अघि बढ्नुको विकल्प नरहेको धारणा व्यक्त गरे । उनले काँग्रेसप्रतिको जनविश्वास घट्न नदिन नेताहरुले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रशिक्षण विभागका सचिव बालकृष्ण पौडेलले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउदै काँग्रेसले अवलम्बन गर्नुपर्ने अबको बाटो र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना, निवर्तमान प्रदेशसभा सदस्य निर्मला क्षेत्रीको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij