
आइतवार , बैशाख २४, २०८०
भैरहवा, २४ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा अवस्थित सि.बि. पब्लिक हाई स्कूलले ‘विद्यार्थी प्रतिभा प्रस्फुटन मञ्च’ कार्यक्रम सुरु गरेको छ । विद्यालयले नयाँ शैक्षिक सत्र २०८० देखि यो कार्यक्रम सुरु गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको अन्तरनीहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको प्रिन्सिपल उदय कुमार मल्लिकले बताए । ‘यो कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीहरुलाई आफ्नो इच्छाअनुसार कला प्रस्तुत गर्ने अवसर (प्लेटफर्म) प्रदान गर्छ, उनले भने, ‘वर्षभरी नै कार्यक्रम सञ्चालन गर्छौं ।’
प्रत्येक हप्ताको शुक्रबार (सो दिन विदा भए एकदिन अगावै वा विदापछिको अर्को दिन) कार्यक्रम सञ्चालन गरिने मल्लिकले जानकारी दिए । सोहीअनुसार वैशाख १५ गते नृत्य र वैशाख २१ गते व्याख्यान गरिएको बताए । नृत्यमा ९९ र व्याख्यामा १०४ जना विद्यार्थी सहभागी भएको उनले जानकारी दिए । मल्लिकले भने, ‘नृत्य कार्यक्रम छ भने विद्यार्थीहरुले आफ्नो चाहनाअनुसार नृत्य प्रस्तुति गर्न सक्छन्, उनीहरुले चाहेकै गीतमा नृत्य प्रस्तुत गर्न सक्छन्, त्यस्तै व्याख्यानमा विद्यार्थीहरुले आफ्नो रोजाइअनुसार विषयवस्तुमा बोल्न सक्छन् । विद्यार्थीहरुले अनिवार्य रुपमा विद्यालयकै पोशाकमा कार्यक्रममा सहभागीता जनाउनुपर्नेछ ।’
विद्यालयले यो कार्यक्रम सञ्चालन गर्नुअघि विद्यार्थीहरुमाझ सर्वेक्षणसमेत गरेको मल्लिकले जानकारी दिए । सर्वेक्षणअनुसार अधिकांश विद्यार्थीले नृत्य, क्रिकेट, पौडी, गायन जस्ता क्षेत्रमा रुची देखाएको उनले बताए । ‘विद्यार्थीहरुलाई प्रतिष्पर्धा गराइँदैन, कार्यक्रमहरुमा सहभागी हुने विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गरिन्छ, मल्लिकले भने, यो कार्यक्रममा सहभागी भएवापत विद्यालयले कुनै शुल्क लिएको छैन ।’
उत्कृष्ट कला प्रदर्शन गर्ने विद्यार्थीहरुलाई विभिन्न संघ–संस्थासँग समन्वय गरेर विद्यार्थीहरुलाई अगाडि बढाउन सहयोग गर्ने विद्यालयको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij